अत्तरिया – कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार साँझ टिकापुर नगरपालिका–८ श्रीलङ्काबाट ५ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित बर्दियाको राजापुर नगरपालिका–७ भीमापुर निवासी १९ वर्षीय सनम थारुलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।


त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट ५७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई शुक्रबार राति पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धनगढी–७ कै २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















