अत्तरिया – कैलालीको अत्तरियामा मानव बेचबिखन तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिका – २ को आर्थिक सहयोगमा अत्तरिया मिडिया प्रालिले कार्यक्रमको आयोजना गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष यज्ञ बहादुर महराले वडामा मानव बेचबिखन तथा आत्महत्याको जोखिम रहेकाले कार्यक्रम गरिएको बताए । उनले मानव बेचबिखन तथा आत्महत्याको जोखिम रोक्न कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको बताए ।

जनचेतनामूलक कार्यक्रममा अधिवक्ता शेर बहादुर विष्टले प्रशिक्षण दिएका थिए । उनले कार्यक्रममा मानव बेचबिखन तथा आत्महत्याको अवस्था, असर, रोकथामका उपाय र कानुनी प्रावधान लगायतका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी पुजा विकले कार्यक्रम निकै जानकारी मूलक लागेको बताइन । उनले वडाका महिलाहरूलाई सचेत गराउन वडाले गरेको कार्यक्रमले मानव बेचबिखन तथा आत्महत्या न्यूनीकरणका लागि सचेत गराउन सहयोग पुग्ने बताइन । उनले आफूले सिकेका कुरा व्यवहारमा लागु गर्ने बताउँदै अरूलाई पनि भन्ने सचेत गराउने प्रतिबद्धता जनाइन् ।




















