अत्तरिया – बैङ्कहरूले चर्को ब्याजदर लिएको विरोधमा अत्तरियामा व्यवसायीहरुले विरोद प्रदर्शन गरेका छन् । व्यवसायीहरु माथि बैंकहरुको ज्याजती बढेको भन्दै व्यवसायीहरुले बजार बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा व्यवसायीहरुले अत्तरिया बजारमा परिक्रमा गरेर महेन्द्रनगर रोडमा कोण सभाको आयोजना गरेका थिए ।


कोणसभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बैंकले बिना जानकारी व्याजदर बढाएर व्यवसायी माथि ज्याजती गरेको बताए । उनले बैंकहरुको यो रबैयाका कारण बैंक मोटाउँदै र व्यवसायी सुक्दै गएको बताए ।
‘बैंकहरुको दादागिरीका बिरुद्ध हामी अहिले सडकमा आउन बाध्य भएका छौ’ उनले भने ‘बैंकका कर्मचारीले पनि व्यवसायीहरुलाई दुःख दिने, धम्काउने, त्रास दिने गरेकाले यसको बिरोध गरिएको हो । हामी माग पुरा नभएसम्म आन्दोलन गर्छौ ।’ उनले माग पुरा नभएर सम्म आन्दोलन जारी रहने बताए ।
व्यवसायीहरुले आजदेखि फागुन २२ गते सम्म बिहान ११ बजे सम्म आन्दोलन गर्ने कार्यक्रम तय गरेका छन् । बैङ्कहरूले लिएको चर्को व्याजदरका विरुद्धमा आज बिहान सुदूरपश्चिम प्रदेशभरीनै आन्दोलन गरिएको थियो ।



















