धनगढी – निर्वाचन सकिएको ३ महिनामा पनि स्थित सरकार बन्न नसक्दा सुदूरपश्चिमका विकास निर्माणका काम प्रभावित भएका छन । एउटा मुख्यमन्त्रीले सपथ लिएको एक महिना नबित्दै दोस्रो सरकार गठन भएपछि विकास निर्माणका काम प्रभावित भएका हुन ।
दोस्रो गठन भएको सरकाले पनि समयमै विश्वासको मत नपाएर पुर्णता नपाउँदा आर्थिक वर्ष सुरु भएको साढे ७ महिना बित्न लाग्दा पनि प्रदेशको विकास बजेट १५ प्रतिशत मात्रै खर्च भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३३ करोड ८९ लाखको बजेट ल्याएको थियो । त्यसमध्ये पुँजीगत बजेट २६ अर्ब ३६ करोडको १५ प्रतिशत मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । चालुतर्फ भने २७ दशमलव ५६ प्रतिशत खर्च भएको छ । झन्डै सात हजार विकास योजनामा बजेट विनियोजन गरेको प्रदेश सरकारका बिभिन्न मन्त्रालयको कार्य प्रगति पनि निकै न्यून छ ।
प्रदेशका तीनवटा बाहेक सबै मन्त्रालय नेतृत्वविहीन छन ।

मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री बाहेक अहिलेसम्म अरू मन्त्रालयमा मन्त्री नै नियुक्त हुन सकेका छैनन । ‘सरकार नै गठन हुन सकेको छैन,’ प्रदेश सांसद विक्रम धामीले भने, ‘निर्वाचनपछि लामो समयसम्म अस्थिरता भएकाले पनि विकास निर्माणका क्षेत्र प्रभावित भएको देखिएको छ ।’ अहिलेसम्म कम्तीमा पनि ५० प्रतिशत बजेट खर्च भइसक्नुपर्नेमा १५ प्रतिशतमै सीमित हुनु विकास निर्माणको प्रगतिका लागि नराम्रो संकेत भएको सांसद धामीले बताए ।
प्रदेशको कुल बजेटको आधाभन्दा बढी विकास वजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको प्रगति नै निकै कम छ । १८ अर्ब २५ करोड ९१ लाख बजेट विनियोजन भएको उक्त मन्त्रालयमा सबैभन्दा बढी विकास योजना पनि छन । मन्त्रालयले तोकेका अधिकांश योजना चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेका छैनन । मन्त्रालयमा दायित्व भएका बहुवर्षीय योजनामा नाम मात्रको बजेट छ भने टुक्राटाक्री योजनामा बढी बजेट विनियोजन भए पनि खर्च हुन सकेको छैन ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले हालसम्म जम्मा १६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक वासुदेव जोशी प्रदेश सरकारको अहिलेसम्म ४० प्रतिशतभन्दा वढी वित्तीय प्रगति देखिनुपर्ने बताउँछन ।
‘अहिले देखिएको प्रगति वास्तवमा अलि कम नै हो,’ जोशी भन्छन्, ‘स्थिर सरकार भए अनुगमन, निरीक्षण र नीतिगत समस्याका विषयमा काम हुने भएकाले विकासले पनि अलि बढी गति लिन सक्थ्यो ।’



















