धनगढी – नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छ ।

वित्तीय संस्थाहरू ओरालो लागिरहेका बेला सहकारीले हिजो प्रधान कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षित भएकाले ढुक्कसँग कारोबार गर्न अनुरोध गरेको हो । सहकारीका अध्यक्ष देवबहादुर बमले सहकारीले सुरक्षित स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षित रहेको बताए ।

सहकारीसँग अहिले नगद एक अर्ब रुपैयाँ रहेको बताउँदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न अध्यक्ष बमले आग्रह गरे । अन्य सहकारी भन्दा नवजीवन सहकारी भिन्न रहेको र पदाधिकारीहरूले संस्थाबाट कुनै पनि प्रकारको ऋण सुविधा नपाउने भएका कारण सहकारीका पदाधिकारीहरूले रकम हिनामिना गर्ने सम्भावना नरहेको अध्यक्ष बमले बताए ।
धनगढीमा केन्द्रीय कार्यालय रहेको सहकारीका कैलाली, कञ्चनपुर र बर्दिया गरि १० वटा सेवा केन्द्र छन् । कैलालीमा धनगढी, राजपुर, टीकापुर, अत्तरिया, सुखड, जोशीपुर, चौमाला, हसुलियामा सेवा कार्यालय छन् । यस्तै कञ्चनपुरमा पुनर्वास नगरपालिकाको आईबीआरडी र बर्दियामा बाँसगढीमा सेवा केन्द्र सञ्चालनमा छन् ।



















