खाेज्नुहाेस

महोत्सवको आकर्षण मकै र कोदोको रोटी

Image

दोधारा चाँदनी – महेन्द्रनगरस्थित खुलामञ्चमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा यहाँको मौलिक खाना मकै र कोदाको रोटी आकर्षणका रूपमा रहेको छ ।

बझाङबाट महेन्द्रनगर आएका सरस्वती कृषक महिला समूहले सुदूरपश्चिमको परम्परागत मौलिक खानाका परिकार राखेको छ । मौलिक खानामा पौष्टिक तत्वसमेत पाइने भएकाले महोत्सवमा मकै र कोदाको रोटीको माग बढी रहेको समूहका अध्यक्ष मायादेवी जप्रेलले बताइन् । ‘बझाङको दुर्गाथलीमा हामी २५ जना महिलाको समूहले तरकारी खेती गछौँ’, उनले भनीन् ‘यसपटक हाम्रो मौलिक खानाको प्रचारप्रसार गर्न बझाङबाट महेन्द्रनगर आएका हौँ ।’

attariya hospital

उनले महोत्सवमा बझाङी खानाका परिकार राखिएको बताइन् । ‘कोदो र मकैको रोटीसँग मही र बझाङको डल्ले मूलाको तरकारी दिने गरेका छौँ’, अध्यक्ष जप्रेलले भनीन् ‘यी खानामा पौष्टिक तत्व पाइन्छ रोग लाग्दैन ।’ उनले बझाङको डल्ले मूलाले रतन्धो रोग लाग्नबाट बचाउने बताइन् ।

navjiwan hospital

‘मकै र कोदाको राटीले रगत बढाउने काम गर्छ’ उनले भनीन् ‘यी खाना सुगरका बिरामीले पनि खान मिल्छ ।’ समूहका सदस्य झुम्कु जप्रेलले बझाङमा समूहमा मिलेर तरकारी खेती गरिरहेको बताइन् । ‘हामी आफ्नै बारीमा विषादीरहित तरकारी फलाउछौँ, मौलिक खानाका परिकार प्रवद्र्धनमा पनि समूह लागेको छ’, उनले भनीन् ‘तरकारी खेतीबाट एक परिवारले वार्षिक रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको छ ।’

वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले मेलाको उद्देश्य नै स्थानीय उत्पादन र मौलिक वस्तुको प्रवद्र्धन गर्नुभएकाले मेलाबाट स्थानीय वस्तुको प्रवद्र्धनमा टेवा पुगेको बताए ।

‘महोत्सवमा हामीले स्थानीय खानाका परिकार, उत्पादनलगायतका वस्तुलाई निःशुल्क व्यापारिक कक्ष उपलब्ध गराएका छौँ’ उनले भने ‘कोरोना महामारीका कारण थलिएको व्यवसाय मेलाले चलायमान भएको छ ।’ मेलामा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गारमेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत भइरहेको सङ्घले जनाएको छ ।

रासस