अत्तरिया – गेटामा सरकारी लगानीमा निर्माण भएका संरचनामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको छ । मोडालिटी बिनै अस्पताल पूर्वाधार विकास समितिले निर्माण गरेका अधिकांस भवन १ बर्ष अगाडी नै निर्माण भएपनि मोडालिटी तया नहुँदा संचालनमा अन्याल थियो ।
नेपाल सरकारको माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट यसलाई विशिष्टिकृत विश्वविद्यालय बनाउने निर्णय गरेपछि अब कहिले विश्वविद्यालय चल्छ भन्ने आम चासो बढेको छ ।

यसअघि शेर वहादुर देउवा सरकारको मोडालिटी बिनै अस्पताल संचालन गर्ने भनेर डा. प्रमोद जोशीलाई अस्पताल निर्देशक नियुक्त गरेका थिए । तर, उनले न अस्पताल संचालनका लागि कर्मचारी पाए, न बजेट नै । जसका कारण उनी ८ महिना काम बिहिन बने ।
मोडालिटी तय नहुँदा तत्काल डा. जोशीको नेतृत्वमा स्वास्थ्य मन्त्रालय मार्फत अस्पताल सञ्चालन प्रक्रिया अगाडी बढाइएको भएपनि उक्त काम पनि अब अन्योलमा परेको छ ।
मेडिकल युनिभर्सिटी बनाउने भनिएकाले शिक्षा मन्त्रालयले अबको प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । उसैपनि गेटालाई लिएर अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारी तहमा एकप्रकारको द्धन्द्ध छ ।
यी दुई मन्त्रालयको लडाइँकै कारण गएको आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि बजेट नै पारित भएन । अव विश्वविद्यालय बनाउने निर्णय पछि संचालनको काम शिक्षा मन्त्रालयले हेर्नुपर्ने हुन्छ । नयाँ विश्वविद्यालय भएकाले यसको संचालनका लागि सबैभन्दा पहिले ऐन नै आवश्यक पर्छ ।

ऐन संसदबाट पारीत गर्नुपर्ने हुन्छ । संदस नचलेको समयमा अध्यादेश ल्याएर यसलाई संचालन गर्न सकिने बिकल्प छ । तर, यसमा सरकारले कति तदारुकता देखाउन्छ अझै स्पष्ट छैन् । मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले यसै हिउँदे अधिवेशनबाट ऐन बने एक डेढ बर्ष भित्रै विश्वविद्यालय संचालन गर्न सकिने बताएका छन् ।
‘अब ऐन बनेमा कति समय लाग्छ । सकेसम्म यही हिउँदे अधिवेशन बाटै ऐन आएमा सहज हुने थियो’ उनले भने ‘ऐन आएपछि पनि एक डेढ बर्ष संचालनमा आउन लाग्छ ।’
उनले हालका अधिकाशं संरचना विश्वविद्यालयकै मोडालिटीमा मिल्ने गरी तयार पारिएको बताए । ‘हामी यसमा संलग्न भएकाहरु त सुरुदेखि विश्वविद्यालयकै कन्सेप्टमा काम गरिरहेका थियौ । अब पदाधिकारी नियुक्त गर्न, पदाधिकारी आएपछि कलेज संचालन, अस्पताल संचालनका लागि भित्रि कुराहरु व्यवस्थापन गर्न समय लाग्छ’ उनले भने ‘आवश्यक इक्युवमेन्टको व्यस्थापन, ल्याब निर्माण, पाठ्यक्रम बनाउन समय लाग्छ । घर बन्दैमा सिधै संचालनमा आउन्छ भन्ने होइन् । त्यस भित्र आवश्यक धेरै काम गर्न बाँकी छ । हामीले अझै धर्य गरौं । एक डेढ बर्ष समय लाग्न सक्छ ।’
उनले अहिले गेटामा पदाधिकारी, भिसि, रेक्टर, रजिष्टार, लगायतका क्वाटर पनि तयार भएको बताए । जुन विश्वविद्यालयका लागि प्रयाप्त छन । उनले तत्काल हालकै संरचनामा विश्वविद्यालय सुरु गर्न सकिने बताए ।
उनले विश्वविद्यालयको प्रभाव विशाल हुने भएकाले यसमा केही समय लाग्नु स्वभाविक भएको बताए । ‘विश्वविद्यालयका रुपमा अगाडी बढेपछि स्वास्थ्य संगै शिक्षाको पाटोमा पनि यो अगाडी बढ्छ ।
यसको नेटकर्व अब गाउँ–गाउँ सम्म पुग्छ’ उनले भने ‘यसले यस क्षेत्रको स्वास्थ शिक्षामा ठूलो प्रभाव पार्छ । यसले यस क्षेत्रमा रहेका अस्पतालहरुको क्षमता पनि बढाउदै जान्छ । अलि समय लाग्न सक्छ । तर, यसको प्रभाव विशाल हुन्छ ।’


















