खाेज्नुहाेस

कञ्चनपुरमा अम्रिसोको कुचोबाट ३ लाख आम्दानी

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित चुरे फेदीको ऐश्वर्य सामुदायिक वनको अम्रिसो आम्दानीको श्रोत बनेको छ । वनभरी रहेको अम्रिसो डेढ दशकदेखि आम्दानीको प्रमुख माध्यम बनेको छ । अम्रिसोबाट कुचो बनाएर बिक्रीबाट वन र स्थानीयले आम्दानी गरिरहेका हुन ।

सामुदायिक वनले गत वर्ष अम्रिसोबाट बनाइएका ३ लाख बढीको कुचो बिक्री गरेको छ । यस वर्ष ४ देखि ५ लाखसम्मका कुचो बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘१५ वर्षदेखि सामुदायिक वनको प्रमुख आम्दानी अम्रिसो बनेको छ,’ ऐश्वर्य सामुदायिक वन उपभोक्ता समितिका सचिव रत्नादेवी बोहराले भनिन्, ‘अम्रिसो काटनेदेखि कुच्चो बनाउने काममा स्थानीय उपभोक्ताले नै रोजगारी पाएका छन ।’

attariya hospital
navjiwan hospital

सामुदायिक वनले ४० हेक्टरमा अम्रिसो लगाएको छ । अहिले अम्रिसो काटनेदेखि कुचो बनाउन भ्याइनभ्याइ भएको छ । स्थानीय उपभोक्ता अम्रिसो काटने र कुचो बनाउन लागेका छन ।

सामुदायिक वनले एउटा कुच्चो बनाएबापत १५ रुपैयाँसम्म दिने गरेको छ । उक्त कुचो ५० देखि ७० रुपैयाँमा थोक मुल्यमा बिक्री हुने गरेको छ । सुरुमा १२ जनाले कुचो बनाउने तालिम लिएका हुन । अहिले अधिकांश उपाभोक्ता कुचो बनाउन सिपालु भएका छन ।

‘अम्रिसो सामुदायिक वन र उपभोक्ताको आम्दानीको स्रोत बनेको छ,’ सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले भने, ‘यस वर्ष पनि अम्रिसोका २० हजार बिरुवा रोपेका छौं ।’ उनका अनुसार हरेक वर्ष अम्रिसो खेती विस्तार हुँदै गएको छ ।

पछिल्लो समय हात्तीका कारण अम्रिसो उत्पादनमा ह्रास आइरहेको जोशी बताउछन । उनका अनुसार गत वर्ष २ महिनासम्म हात्तीले आधा भन्दा बढी फुलेको अम्रिसो नष्ट गरेको थियो ।