अत्तरिया – उसो त नगरप्रमुख नगरको अभिभावक हो । नगरका सम्पुर्ण क्रियाकलापहरुको जिम्मेवारी उसैको काँधमा हुन्छ । नगरको वृहत्तर विकासदेखि लिएर नगरबासीका हरेक ईच्छा चाहनाहरुलाई परिपुर्ति गर्नुपर्ने बाध्यताका कारण नगरप्रमुख पद सबैभन्दा बढी व्यस्त र जिम्मेवार पद हो । राजनीति सेवा हो, त्यसैले राजनीतिलाई सेवाका रुपमा मनन् गरि त्यसलाई सोही रुपमा ढाल्नका जनप्रतिनिधि स्वयम् आत्मनिर्भर बन्न जरुरी हुन्छ ।
कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले पनि सो बुझाईलाई मनन् गर्दै माछा व्यवसाय अंगालेका छन । नगरप्रमुख पदमा पुगिसकेपछि मानिसले नगरको समृद्धि र विकासको साटो भ्रष्ट्राचारको अखडा बनाएका उदाहरणहरु पनि छन । तर, भट्टले नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उक्त व्यवसाय गरिरहेका हुन । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाई छ ।

उनी नगरपालिकाकै वडा नम्बर ९ सेहरीमा ९ बिगा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका हुन । ‘यो डोटीमा रहेको निरौली विद्यालयको जग्गा हो । २०७८ सालमा जग्गाको एग्रीमेन्ट गरेर काम सुरु गरेका थियौ’ उनले भने ‘हामी २ जना दाजुभाई मिलेर यो काम गरिरहेका छौ । निर्वाचनका कारण केही ढिलाई हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौ, केही अझै निकाल्न बाँकी छ ।’ उनले आफुले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए ।
‘यसमा जेसिवी प्रयोग गरेको भए ८ देखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’ उनले भने ‘हामीले ट्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौ । जसले पोखरी दिगो बन्न मदत गर्छ ।’ उनले यो बर्ष केही ढिलो हुँदा सबै पोखरीहरुमा माछा राख्न नसकेको बताए ।
उनले राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको बताए । निर्वाचन अगावै अथार्त २०७८ सालमै सञ्चालनमा ल्याईएको बिपि एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय सुरु गरेका हुन । नगरप्रमुख हुनु अगावै देखि सञ्चालनमा ल्याईएको उक्त फर्ममा उनले विभिन्न जातका माछाहरु उत्पादन गरि विक्रिवितरण गर्ने योजना बनाएका छन । ‘यो सबै जमिनमा माछा पोखरीहरु बनेका छन, यहाँ प्रायजसो सबै प्रकारका माछा उत्पादन हुनेछन’ उनले भने ‘सानो पोखरीमा हामीले पंगास जातको माछा राखेका छौ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई बर्षको २ पटक सम्म उत्पादन गर्न सकिन्छ ।’

उनले फागुन देखि ९ विगामा निर्माण गरिएका सबै पोखरीमा पुरै क्षमतामा माछाका भुराहरु राख्ने बताए । उनले माछाका भुराहरु पनि आफ्नै स्टक राख्ने र आवश्यक परे बेचबिखन गर्ने समेत योजना रहेको बताए । उनले त्यसका लागी ५ वटा पोखरीहरु निर्माण गरिएको बताए । उनले सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेशा अंगालेको बताए ।
‘यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागेपनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’ उनले भने । उनले आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको बताउँदै विस्तारै उक्त संख्या बढ्दै जाने बताए । उनले उक्त फर्ममा करिब पौने ३ करोड लगानी लागीसकेको बताए । ‘करिब पौने ३ करोड लगानी लागिसकेको छ, सबै बैंक बाट नै ऋण लिएर हो’ उनले भने ‘अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।’ उनले उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकिय स्वरुप दिने किसीमको योजना सुनाए ।
उनले कृषि पेशामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताए । ‘म आफै पनि स्थानिय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेशामा पनि आवद्ध भएकाले यसका कठिनाईहरु महसुस गरेको छु’ उनले भने ‘यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । कृषकहरुले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाई माथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौ । त्यही अनुसार अगाडी बढ्छौ ।’
बजारीकरणको समस्या
भारतबाट अवैध रुपमा भित्रिने माछाहरुका कारण नेपालका माछा व्यवसायीहरुलाई बजारीकरणको समस्या रहेको उनले बताए । ‘अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अबैध रुपमा नेपालमा माछा भित्रिरहेका छन । जसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मुल्य पाउन सकेका छैनन्’ उनले भने । उनले अवैध रुपमा भित्रिने वस्तुहरुको रोकथामका लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भएपनि नतिजा फलदायी हुन नसकेको बताए ।
भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उनको भनाई छ । उनले सोही कारण स्थानिय किसानहरुले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको बताए ।
गठबन्धनका तर्फबाट निर्वाचनमा होमिएका भट्टले प्रतिष्पर्धि नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । स्थानीय तहको निर्वाचनमा दुईपटक होमिएका भट्ट पहिलो प्रयासमा असफल रहेका थिए । पहिलो प्रयासमा उनी एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।

















