अत्तरिया – कैलालीको गोदावरीमा मापदण्ड विपरित सडक कालोपत्रे गरेको पाइएको छ । गोदावरी नगरपालिका – ८ जमुनानगरमा राजमार्ग संगै जोडिएको शाखा सडकमा मापदण्ड विपरित कालोपत्रे गरेको पाइएको हो । ३ दिन अगाडी देखि कालोपत्रे गर्न सुरु गरिएको उक्त सडकमा मापदण्ड विपरित काम गरिएको भन्दै स्थानीयले गुनासो गरेपछि नरपालिकाले चेकजाँच गरेको थियो ।
शुक्रबार कालोपत्रे चेकजाँच गर्दा सडकको मोटाई नै मापदण्ड अनुसार नभएको पाइएको छ । नगरपालिकाका प्राविधिकले २ दशमलव ५ सेन्टिमिटर कालोपत्रेको मोटाइ हुनुपर्नेमा औषतमा २ सेन्टिमिटर मात्रै मोटाई भएको पाइएको जनाएका छन । ४५० मिटर लम्बाईको उक्त सडकमा हाल सम्म करिब १५० मिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ । कालोपत्रे गरिएको मध्ये करिब १२० मिटर सडकमा कालोपत्रेको मोटाइ कम भएको पाइएको सडक जाँच गर्न गएका एक प्राविधिकले बताए ।

उनले कालोपत्रे गर्नु पुर्व सडकमा राखिने प्राइम कोड पनि गलत तरिकाले हालिदा समस्या भएको बताए । ‘प्राईम कोड हालेपछि सो क्षेत्रमा गाडी चल्न दिनुहुँदैन । नत्र प्राइमकोट बिग्रीन्छ’ उनले भने ‘एकैचोटी पुरै सडकमा प्राइम कोड हालेर कालोपत्र गर्न सुरु गरिएको रहेछ । जसले गर्दा प्राइम कोड हालेको सडकमा गाडी चलेपछि त्यसको गुणस्तर बिग्रिएको छ ।’
स्थानीय अरुण पालले ठेकेदार कम्पनीले कालोपत्रेका नाममा झारो टार्ने काम गर्न थालिएपछि आफूहरुले खवरदारी गरेको बताए । उनले रातीको समयमा स्टमेट विपरित कालोपत्रे गरिन थालेपछि आफूहरुले नगरपालिकाका प्राविधिकलाई चेकजाँचका लागि बोलाएको बताए ।

‘अस्ती राती काम गरियो । काम स्टमेट अनुसार भएन । लिपपोत गरेर आएको जस्तो भयो । त्यसपछि हामीले ठेकेदारलाई बोलायौ । वहाले फेरी अलकत्रा थपेर पेल्नुभयो’ उनले भने ‘हामी सबै गाउँले सजक भएर बनाउने भए गतिलो स्टमेट अनुसार बनाऔ नत्र नबनाऔ भन्यौ । अहिले नगरपालिकोको प्राविधिक टोली आएर पनि चेकचाँच गर्यो । त्यसमा त्रुटि नै भेटियो ।’

उनले आफूहरुले काममा अवरोध गर्नेभन्दा पनि स्टमेट अनुसार हुनुपर्ने माग गरेको बताए । उनले भने ‘हामीले काममा अवरोध गरौ भनेका होइनौ । स्टमेट अनुसार काम भएन भनेका हौ । यसरी काम गरियो भने त सडक १५ दिनमै भत्किन्छ ।’
उनले बेस पनि राम्रो नभएको बताए । उनले भने ‘३/४ महिना पहिले बेस पेलेको भएपनि त्यसको लेवल मिलेको थिएन् । तर, वहाँहरुले त्यसैमा कालोपत्रे सुरु गर्नुभयो ।’ स्थानीयले केही दिनको लागि देखाउनको लागि मात्रै नभएर टिकाउ हुनुपर्ने माग गरेका छन् ।
उक्त सडक कालोपत्रे गर्नको लागि गोदावरी नगरपालिकाले गत आर्थिक बर्ष सुमन कन्ट्रक्सन संग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीका साईड इन्चार्ज अनुराग चन्दले त्रुटि भएको क्षेत्रमा सुधार गरिने बताए ।



















