अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ ले प्रमाणपत्र वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका वीर बहादुर बलायर, प्रदेश सभा (१) मा निर्वाचित नेकपा एकीकृृत समाजवादीका दीर्घ बहादुर सोडारी र प्रदेश सभा (२) मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन ।
प्रमाणपत्र ग्रहण पछि बोल्दै प्रतिनिधि सभामा निर्वाचित बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पुर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, लगायत सम्पुर्णलाई धन्यावाद ज्ञापन गरे । उनले आफूलाई निर्वाचित गराउने जनतालाई पनि धन्यावाद ज्ञापन गरे ।

उनले आफूले निर्वाचनका समयमा बोलेका प्रतिवद्धता दिलोज्यान दिएर पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूलाई मत दिने र नदिने बसै प्रति समान व्यवहार गरी अगाडी बढ्ने बताए ।


बलायरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६०७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कुल खसेको ६४ हजार १५८ मत मध्ये बलायरले २६ हजार २२० मत पाएका थिए भने भट्टले २२ हजार ६१३ मत पाउन सकेका थिए ।
प्रदेश सभा (१) मा सोडारी १३ हजार ४८९ मत ल्याएर विजयी भएका थिए उनले प्रतिस्पर्धी एमालेका भीम देउवा भन्दा ४ हजार ५६ बढी मत पाएका थिए । देउवाले ९ हजार ४२३ मत ल्याएका थिए ।
प्रदेश सभा (२) मा बम प्रतिस्पर्धी एमाले उम्मेदवार हरी सिह साउँदलाई ५१६ मतान्तरले पराजित गर्दै विजय भएका थिए । बमले १२ हजार ४ सय ७३ मत ल्याएका छन भने एमालेका उम्मेदवार साउँदले ११ हजार ९ सय ५७ मत ल्याएका थिए ।

















