खाेज्नुहाेस

गोदावरी आर्यघाट पुग्दा जे देखियो…

Image

अत्तरिया – सुदूरपश्चिमको धार्मिक पर्यटकिय क्षेत्र गोदावरी धाममा सोमबार लोकतान्त्रीक बाम गठबन्धनको सरसफाई कार्यक्रम थियो ।

आसन्न निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका प्रदेश सभापति विर बहादुर बलायर र प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसकै नेता प्रकाश बमको उपस्थितिमा धामको सरसफाई गरिने बताईएको थियो । तर गोदावरी धाम सरसफाईका लागी हिडेको टोली गोदावरी आर्यघाट जाने बाटो नजिकै रोकियो ।

attariya hospital

गोदावरी धामको सरसफाईका लागी बनाइएको अभियानले फरक रुप धारणा ग-यो । आर्यघाट जाने बाटो वरपरको फोहोर देखेर गोदावरी धामको सरसफाई गर्ने भनेर हिडेको टोली आर्यघाट जाने बाटो नजिकै रोकिएको सरसफाई अभियानका अभियान्ता समेत रहेका बलायरले बताए । उनले गोदावरी धामको सरसफाईका लागी योजना बनाईएको भएपनि आर्यघाटको सरसफाई अझ महत्वपूर्ण भएकाले आर्यघाट देखि नै सरसफाई थालिएको बताए ।

‘धार्मिक पर्यटकिय क्षेत्रका रुपमा रहेको गोदावरी धामको सरसफाई गर्ने लक्ष्य हो’ उनले भने ‘तर यहाँ आर्यघाटको अवस्था हेर्दा नाजुक रैछ त्यसैले यहीबाट सरसफाई अभियानको थालनी गरिएको हो ।’ उनले नागरिकमा आर्यघाटको व्यवस्थापन र सरसफाई गर्ने जिम्मेवारी बोध गराउन अभियानको थालनी गरिएको बताए ।

उनले आर्यघाट सम्म पुग्ने बाटोभरी फोहोरको डंगुर भरिएकाले त्यसको सरसफाईलाई ध्यान दिईएको बताए । उनले आर्यघाटको व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागी आफुले पहल थाल्ने बताए । ‘यो सबैलाई आवश्यक पर्ने क्षेत्र हो, यसको व्यवस्थापन अनिवार्य छ’ उनले भने ‘पहिलो पटक नै भएपनि आज सुरुवात गरेका छौ, भविष्यमा यसको व्यवस्थापनका लागी मेरो पुर्ण प्रयास रहनेछ ।’

उनले मानिसको अन्तिम विर्सजनको क्षेत्र नै आर्यघाट भएकाले त्यसको महत्व र गरिमालाई बढाउने खालको काम गर्नुका साथै फोहोर जताततै नफाली व्यवस्थीत रुपमा फोहोर फाल्न पनि अनुरोध गरे । उनले निर्वाचन लक्षित सरसफाई अभियान आयोजना गरियो भन्नेले भोलीका दिनमा पनि हेर्न आग्रह गरे । ‘केही नगर्नेले केही न केही भन्छन, कम्तीमा यती त भयो नी, एकैदिनका लागी भएपनि गरियो नी’ उनले भने ‘यत्तिका दिनसम्म त सकैको ध्यान गएको थिएन तर मेरो यो निरन्तर अभियान हो । यसैलाई मैले निरन्तरता दिन्छु ।’

गुरुयोजना बनाएर अगाडी बढ्छु : भट्ट

navjiwan hospital

यसैबिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आर्यघाटको गुरुयोजना बनाएर अगाडी बढ्ने बताए । ‘आर्यघाटको व्यवस्थापनका लागी पुर्ण रुपमा गुरुयोजना बनाउन आवश्यक रहेको छ’ उनले भने ‘त्यसका लागी स्थानीय तहको बजेटले सम्भव हुदैन, त्यसैले केन्द्र सरकारसँग समन्वय गरेर गुरुयोजना सहित आर्यघाटको व्यवस्थापनका लागी अगाडी बढ्छु ।’ उनले गुरुयोजनामा शव जलाउने ठाउँ, पानीको व्यवस्थापन, क्रियापुत्रिहरुले क्रिया गर्ने स्थान, आएको मान्छेहरुलाई बस्नका लागी प्रतिक्षालयको अवस्था र बनिसकेको संरचनाको संरक्षण लगायतका कुराहरु समेटिने बताए ।

उनले आफु निर्वाचित भएर आएलगत्तै आर्यघाटको गुरुयोजनाका लागी छिमेकी पालिकाहरुसँग पनि आग्रह गरिरहेको बताए । ‘यहाँ गोदावरीको मात्रै नभई नजिकका तिन ओटै पालिकाका मानिसहरु आउने गर्दछन’ उनले भने ‘त्यसैले एक पालिकाबाट मात्रै सम्भव हुने नदेखिएपछि मैले उहाँहरु सँग पनि समन्वयका लागी अनुरोध गरेको छु । राम्रो सँग छलफल हुन पाएको छैन, सम्भवतः यसलाई व्यवस्थीत गर्ने पक्षमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ होला ।’

उनले चालु आर्थिक वर्षमा नगरपालिकाले आर्यघाट सम्म पुग्ने सडक कालोपत्रे गर्ने बताए । उनले उक्त योजनालाई नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समावेश गरेको बताए । आर्यघाट सरसफाई गरिनु आफैमा राम्रो भएको बताउदै उनले आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिईने बताए ।

गोदावरी धाममा पनि सरसफाई

गोदावरी आर्यघाटको सरसफाई गर्ने टोली त्यसलगत्तै गोदावरी धाममा पनि पुगेको थियो । गोदावरी धाम नेपालको मात्रै नभई छिमेकी मुलुक भारतका हिन्दुधर्मावलम्बीहरुको पनि आस्थाको रुपमा रहदै आएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट यहाँ पुजाका विभिन्न कार्यहरु गर्न मानिसहरु आउने गरेको भएपनि सरसफाईको काम खासै हुन सकेको थिएन् । गोदावरी धामको व्यवस्थापन र त्यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना आफुले अघि सारेको बलायरले बताए ।

‘गोदावरी धाम सुदूरपश्चिमकै धार्मिक पर्यटकिय क्षेत्रमध्येको एक हो’ उनले भने ‘यसको संरक्षण गरेर यसलाई अझै पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्ने योजना छ ।’ सरसफाई अभियानमा गठबन्धनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।