खाेज्नुहाेस

शोकमा डुब्यो गैरागाउँ

Image

दीपायल – पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर पुगेका थिए । उनी घर आउनुअघि नै परिवारमा नयाँ घर बनाउने सल्लाह भएको तर घर नबन्दै भूकम्पका कारण पुरानो घर भत्किँदा च्यापिएर उनको निधन भयो ।

उनकी ८१ वर्षीया आमा खिनादेवी बोहराका अनुसार प्रेमले परिवारसँगै खाना त खाए तर पूरा रात निदाउन भने पाएनन् । अबेर घर पुगेका प्रेम छोराछोरीका लागि ल्याइदिएका लुगा दिँदै थिए । यत्तिकैमा बेलुकी ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्पको पहिलो झट्का आयो । ‘सन्दुक बज्न थाले । छोराले खानाको थालमा हात के लगाएको थियो, पूरै घर हल्लियो, गोठमा भएका चौपाया कराउन थाले’ आमा खिनादेवीले भक्कानिँदै भनीन् ‘नराम्रो सङ्केत त्यतिखेरै देखिएको थियो तर घर नै भत्केला भन्ने सोच्नै सकेनौँ ।’

attariya hospital

प्रेमकी श्रीमती बिस्नादेवीले यस्तो भूकम्प पटक–पटक आउने जाने गरेकोले परिवारका सदस्यलाई नडराउन भनीन् । त्यसपछि आफूहरू खाना खाएर सुतेको खिनादेवीले बताइन् ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा ९ बजेको भन्दा ठूलो धक्का आयो । घरको तल्लो तलामा निदाएकी आमा आत्तिएर बाहिर आईन् । गाउँभरि कोलाहल मच्चियो । खिनाले सुनाइन् ‘पूरै घर भत्केको थियो । आँखा पनि देखिनँ, छामछुम गरेर हेर्दा पनि भेट्टाउन सकिनँ । नाति रोएकोबाहेक केही सुन्नै सकिनँ ।’

navjiwan hospital

घटनामा प्रेम, उनकी श्रीमती बिस्ना र छोरी तुल्सी घरमा च्यापिएको अवस्थामा फेला पारेको स्थानीयवासीले बताएका छन । प्रेमको घटानस्थनमै निधन भयो भने उनकी श्रीमती बिस्ना गम्भीर घाइते छिन् । पाठेघरमा घम्भीर चोट लागेका कारण जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

भूकम्पका कारण गैरागाउँका नौवटा घरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा एकै परिवारका तीन जनासहित छ जनाले ज्यान गुमाउनु परेको छ । सोही गाउँका थप सात जना घाइते भएका छन् । एउटै टोलका, छिमेकीको निधन र घाइते भएपछि सो गाउँ शोकमा डुबेको छ ।

मृतक र घाइते गाउँले मात्र नभएर एउटै वंशजका भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले बताए । “२०३७ सालपछि भूकम्पबाट मानवीय क्षति अहिले मात्रै भएको हो,” उनले भने, “उक्त गाउँ मात्रै नभएर पूरै गाउँपालिका शोकमा छ । एकै दिन, एकै पटक यति धेरै गाउँपालिकावासी गुमाउनु पर्दाको पीडा हामीलाई झन् बढी छ ।”

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार सो गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्यु भएको हो । मृतक सबैको बुधबार एकसाथ दाहसंस्कार गरिएको छ ।

गोरखापत्रबाट