खाेज्नुहाेस

पुरानै एजेण्डा सुनाएर भोट माग्दै भट्ट, प्रतिस्पर्धीका कमजोरी खोतल्दै बलायर

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमै बढी चासोका साथ हेरिएको कैलाली – ४ मा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन । सोही क्रममा प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेबाट निर्वाचनमा होमिएका लेखराज भट्ट र गठबन्धनका तर्फबाट कांग्रेसका बीर बहादुर बलायर चुनाव जित्ने दाउका साथ चुनावी प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन ।

यस क्षेत्रमा यी दुवै बीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दुवैजना पार्टीका प्रभावशाली र पुर्व मन्त्री समेत रहेकाले दुवै बीच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको हो । दुवैजना चौथो पटक चुनावी मैदानमा होमिएका भएपनि भट्ट एउटै क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन भने बलायर यस क्षेत्रबाट पहिलो पटक चुनाव लड्दै छन् । जसले गर्दा भट्टले ३ पटक सम्म सांसद हुँदा के–के गरे भन्ने प्रश्नको सामना गरिरहनु परेको छ भने बलायरले उनका विगतका कमजोरी खोतल्दै मतदाता रिझाउने रणनीति अघि सारेका छन ।

attariya hospital

२०७४ सालमा निर्वाचित भएपछि मन्त्री समेत भएका भट्टले सो अवधिमा बिभिन्न काम अगाडी बढाएको भन्दै मतदातालाई फकाउने प्रयास गरिरहेका छन । उनले आफू उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा यस क्षेत्रमा अगाडी बढाएका बिभिन्न योजनाको फेहरिस्त चुनावी भेलामा सुनाउने गरेका छन । सोमबार कैलाली क्षेत्र नम्बर ४ अन्तरगत गौरीगंगा नगरपालिका – ११ मा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै सचिव भट्टले एमाले नेतृत्वको सरकारमा आफूले थुप्रै योजना अगाडी बढाएको भएपनि सरकार ढलेपछि ती काम रोकिएको बताए ।

उनले एमाले सरकारले अघि बढाएका सुकुम्बासीलाई लालपुर्जा दिने, रोजगारी अन्त्यका लागि औद्योगिक क्षेत्र खोल्ने, यस क्षेत्रको स्वास्थ्यमा फड्को मार्ने गेटा मेडिकल कलेजको काम सरकार ढलेसंगै रोकिएको बताए । ‘दैजी– छेला औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया औद्योगिक क्षेत्र, हरैया विशेष व्यापारीक क्षेत्र, जुडेधारी औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा निर्माणका काम अगाडी बढेका छन’ उनले भने ‘अहिले गठबन्धन सरकारले यसलाई रोकेको छ ।’

उनले एमाले सरकारले भूमिहिनलाई जग्गा दिने तयारी गरेको भएपनि सरकार ढालेपछि यो काम रोकिएको बताए । उनले भने ‘आफूहरुले काम गर्न पाएको भए ५ बर्ष भित्रमा सबैले जग्गा पाउने थिए । गठबन्धनको सरकारले यो कामलाई रोक्यो ।’ उनले अहिलेको सरकारले गेटा मेडिकल कलेज संचालन गर्न नसकेकाले एमालेको सरकार आएपछि सो काम अगाडी बढाइने बताए । उनले विश्वविद्यालय मोडेलमा प्रस्तावित गेटा मेडिकल कलेजलाई संचालन गरिने बताए । भट्टले उठाउँदै आएका यी सबै एजेण्डाहरु अघिल्ला चुनावहरुमा पनि भन्दै आएका थिए । तर, यी योजना पुरा नहुँदा भट्टले तिनै योजनालाई पुरा गर्ने भन्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन ।

navjiwan hospital

भट्टलाई निर्वाचित भएपछि आफ्नो क्षेत्रका मतदातालाई नभेटेको पनि आरोप लाग्दै आएको छ । जुन आरोपलाई नकार्न नसकेका भट्टले निर्वाचित भएपछि कानुन बनाउनमा व्यस्त हुँदा जितेर निर्वाचन क्षेत्रमा आउन नसकेको बताए । ‘किन फर्केर आएनन् भनेर प्रश्न गरिन्छ । हामी संसदमा निर्वाचित भएर गएपछि त्यतिबेला कानुनहरु थिएनन् । हामी कानुन बनाउनमा लाग्यौ’ उनले भने ‘साढे ३ सय कानुन, ऐनहरु बने । त्यसले साचिकै यो देशलाई अगाडी बढाएको छ ।’

पहिलो पटक यस क्षेत्रमा चुनाव लडिरहेका बलायरले भने पटक– पटक परिक्षण भइसकेका भट्टले यस क्षेत्रमा कुनै काम गर्न नसक्ने दाबी गर्दै आएका छन । उनले आफ्ना अधिकांस चुनावी भेलामा लेखराज भट्टकै लाचारीका कारण यस क्षेत्रको विकासले गति लिन नसकेको बताउने गरेका छन । बलायरले यस क्षेत्रबाट चौथो पटक चुनावमा लडिरहेका भट्टका विगतका कमजोरी खोतल्ने प्रयास गर्ने गरेका छन ।

सोमबार नै गोदावरी नगरपालिका – ११ मै चुनावी सभालाई सम्बोधन गर्दै बलायरले लेखराज भट्ट यस क्षेत्रका जनतामाझ घुलमिल नै हुन नसकेको आरोप लगाए । ‘बोल्नै गाह्रो, हास्न त देखेकै छैन । मान्छेको दुःख र सुखमा सहयात्रा गर्न सकिएन भने त्यसलाई राजनीति भनिदैन’ भट्टलाई लक्षित गर्दै बलायरले भने ‘म त यहाँ आएपछि १५ जना बित्नुभो, वहाँहरुको शवयात्रामा गए । मान्छेको विहेबारी भए, खुसी मनाउन जाउँला । मानिसको समाजमा हुने बेदना र सम्बेदना संग हामीले सहभागिता जनाउन सकेनौ भने त्यो मानविय सभ्यता हुँदैन ।’

उनले आफू भोट माग्न मात्रै गफ लगाउने मान्छे नभएको बताए । ‘म नसक्ने काम हुन्छ भन्दै भन्दैन । मैले नसक्ने काम यो गर्दिछु त्यो गर्दिन्छु भनेर भोट मागेकै छैन’ उनले भने ‘यहाँ के– के काम गर्नुपर्ने छ मलाई राम्रो संग थाहा छ । म कुन योजना कसरी सुरु गर्ने योजना बनाउँदै छु ।’ उनले आफूले पालिका, प्रदेश सरकार र संघ सरकार संग समन्वय गरेर यस क्षेत्रको समस्या सामाधानका लागि लागिपर्ने बताए । ‘कहाँ कस्को भोक्रो (घाँटी) समातेर हुँन्छ म यस क्षेत्रको विकासका लागि योजना ल्याउनेछु’ उनले भने ‘मलाई तपाईहरु नरोक्नुस् । मलाई जिताउनुस् । मलाई थाहा छ कहाँ के गरेर योजना ल्याउन सकिन्छ ।’

उनले यसअघि चुनाव जितेकाहरु जितेपछि नफर्किएको बताए । ‘मैले देखे यहाँ चुनाव जितेपछि फर्किएकै नरहेछन् । ३ पटक भोट दियो फर्केनन्’ उनले भने ‘म पहिलो चोटी यस क्षेत्रमा चुनाव लड्ने क्रममा खैराला पुगे । लेखराज दाई त सो क्षेत्रमा भूमिगत हुँदा बस्नु भएको रहेछ । तिन चुनाव लडेर जितेपछि भने फर्किनुनै नभएको रहेछ ।’

उनले लेखराज भट्टले आफूले प्रतिष्ठानको नाममा पाएको एम्बुलेन्सबाट रकम असुलिरहेको बताउँदै आफूले त्यस्तो काम नगर्ने बताए । ‘आमाबुवाको नाममा प्रतिष्ठान खोलेर एम्बुलेन्स पाए । अहिले त्यसमा पैसा लिइरहेका छन’ लेखराज भट्टलाई लक्षित गर्दै उनले भने ‘म अहिले घोषणा गर्न चाहन्छु । निर्वाचित भयो भने मैले ३० वडा छन । ति ३० वडामा २ बर्ष भित्रमा एक÷एक वटा एम्बुलेन्स दिने छु ।’ एम्बुलेन्स वितरण भएमा प्रसुती हुन नसकेर महिलाले ज्यान गुमाउन नपर्ने उनले बताए । ‘प्रसुती भएका महिला, आर्थिक रुपमा बिपन्नहरुले भिख माग्नु पर्ने छैन । बरु म जनताका लागि भिक माग्छु’ उनले भने ‘म समाजप्रति जिम्मेवार छु ।’