अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीमा रहेको आर्यघाटलाई व्यवस्थीत बनाउन गुरुयोजना बनाईएको छ । नगरपालिकाले आर्यघाटलाई दिगो रुपमा व्यवस्थीत गर्न गुरुयोजना बनाएको हो । गुरुयोजना अनुसार राजमार्गदेखि भित्र आर्यघाट सम्म पुग्ने बाटो कालोपत्रे गरिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमै उक्त क्षेत्रसम्म पुग्ने बाटो कालोपत्रे गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए ।
‘आर्यघाटसम्म पुग्ने बाटो समेत राम्रो छैन, सर्वप्रथम त त्यसको व्यवस्थापन गर्नुपर्ने छ’ उनले भने ‘त्यसका लागि चालु आर्थिक वर्षभित्रै नगरपालिकाले आर्यघाट सम्म पुग्ने बाटो कालोपत्रे गर्ने योजना छ ।’ उनले आर्यघाटमा पानीको व्यवस्थापन गर्ने, क्रियापुत्रिहरुलाई त्यहि क्रिया गर्नुपर्दा उनीहरुलाई बस्ने घरको व्यवस्था गर्ने र शव पोल्न सहज बनाउनका लागि नदीले नभत्काउने गरी एउटा संरचना बनाउने योजना रहेको बताए । उनले संरचना निर्माणका लागि डिपिआर बनाउने कुरा चलिरहेको पनि बताए ।

उनले गुरुयोजना बनाउने र त्यसको कार्यान्वयन गर्ने कार्य नगरपालिकाबाट सम्भव नहुने भएकाले संघ सरकार मार्फत उक्त कार्यका लागि पहल थालिने बताए । उनले त्यसका लागि आफू सक्षम रहेको र जसरी भएपनि आर्यघाटलाई व्यवस्थीत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सुशासनका लागि ई–हाजिरी
नगरपालिकाले नगरका सबै वडा र स्वास्थ्य केन्द्रहरुमा ई–हाजिरी जडान गरेको छ । कार्यालयको काममा सुशासन कायम गर्न र कर्मचारीहरुलाई नियमित बनाउन ई–हाजिरी जडान गरिएको नगरप्रमुख भट्टले बताए । उनले केही सरकारी संस्थाहरुमा ई–हाजिरी जडान गर्न बाँकी रहेको बताए ।
‘वडाकार्यालय, स्वास्थ्य केन्द्र र विद्यालयहरुमा ई–हाजिरी जडान गर्ने योजनाहरु, अरुमा भयो तर विद्यालयहरुमा केही केही मा बाँकी छ’ उनले भने ‘निर्णय भैसके पनि कार्यान्वयनमा ढिलाई भएको छ, त्यसलाई छिटो कार्यान्वयन गर्न म प्रशासनलाई निर्देशन दिन्छु ।’ उनले ई–हाजिरीले कार्यालयको काम कारबाहीमा छिटोपना आउने र सेवाग्राहीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
मालाखेती अस्पतालको स्तरोन्नती
नगरपालिका मातहत रहेको एक मात्र अस्पताल मालाखेतीको स्तरोन्नती भएको नगरप्रमुख भट्टले बताए । उनले अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन र अन्य विभिन्न संरचनाहरुको निर्माणले अस्पतालको स्तरोन्नती भएको आधार देखाएको बताए । ‘अस्पतालमा ३ जना डाक्टरहरुको दरबन्दी आएको छ, डाक्टरहरुले काम थालिसक्नुभएको छ’ उनले भने ‘त्यति मात्रै नभई अस्पतालमा अप्रेशन सेवा सुचारु गर्नका लागि अप्रेशन थ्रियटरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने ईन्डोर सेवा सुरु भैसकेको छ ।’ यी सबै कुराले अस्पतालको स्तरोन्नती भएको देखाउछ ।
अस्पतालमा सुत्केरी, ज्येष्ठ नागरिक र अपांगहरुको आवतजावतका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको उनले बताए । ‘कार्यपालिका बैठकबाट सुत्केरी, ज्येष्ठ नागरिक र अपांगहरुलाई अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेका छौ’ उनले भने ‘तर एम्बुलेन्स खरिदका लागी केही प्राविधिक ढिलाई भएका कारण त्यो कार्य सुरु हुन सकेको छैन, एम्बुलेन्स खरिद गरेसँगै उक्त योजना कार्यान्वयन हुने छ ।’ त्यसका साथै शववाहन पनि खरिद गर्ने निर्णय भएको र त्यो टेन्डर प्रकृयामा रहेको उनले बताए ।
हाइमास्ट लाइट जडान
अत्तरिया चोकमा चोरी डकैती र दुर्घटना कम गर्न हाइमास्ट लाइट जडान गरिएको नगरप्रमुख भट्टले बताए । ‘चोकमा चोरी डकैती हुने, मानिसहरु गाँजा, अफिम, चरेसहरु खाने लगायतका काम गर्ने गरेका थिए र सुरक्षाको दृष्ट्रिकोणले पनि चुनौती देखिएको थियो’ उनले भने ‘ति सबै समस्याहरुलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै लगानीमा हाइमास्ट लाइट जडान गरेको हो, त्यसले साँझको समयमा हुने दुर्घटना पनि न्यूनिकरण गर्ने मैले विश्वास लिएको छु ।’
सोही चोकमा भएको व्यापारीक बोर्ड भने हटाईएको उनले बताए । निर्माण कम्पनीले गरेको सम्झौता अनुसार नगरपालिकाले राजश्व नपाएको र निर्माण कम्पनीको प्रचार मात्रै भैरहेकाले बिलबोर्ड हटाईएको उनले बताए । ‘नगरपालिकाले राजश्व लिने गरी १५ वर्षका लागि भनेर सम्झौता गरेको रहेछ, तर हालसम्म नगरपालिकाले एक रुपैयाँ पनि राजश्व प्राप्त गरेको छैन’ उनले भने ‘त्यसमा पनि चोक कूरुप बनेको भन्दै नगरबासीले हटाउनुपर्ने माग गरेका थिए, म निर्वाचित भएर आईसकेपछि त्यसलाई कार्यान्वयन गरेको हुँ । कार्यान्वयनमा प्रकृयागत जाँदा केही ढिलाई भयो ।’ उक्त कम्पनीले बिजुलीको बिल समेत नतिरेको उनले बताए ।

यसैगरी सुदूरपश्चिमका धार्मिक एवम् पर्यटकिय स्थलहरु देखाईने र सुदूरपश्चिमको संस्कृति झल्काउने खालका तस्बिरहरु देखाईने गरी चोकमा डिस्प्ले बोर्ड राखेको उनले बताए । उक्त बोर्डमा जनहितका कुरा र ट्राफिक नियम सम्बन्धीका कुराहरु पनि देखाईने उनले बताए । उनले चोकलाई सुन्दर र व्यवस्थीत बनाउन वाटर फाउन्टिङ पनि जडान गरिएको र आउँदो शनिबार भित्र चोकमा वाटर फाउन्टिङ जडान गरिसक्ने बताए ।
३ कक्षासम्म अंग्रेजी माध्यममा पढाई
नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गराउने लक्ष्य लिएको छ । नगरप्रमुख भट्टले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न आउँदो शैक्षिक सत्रदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गराउने लक्ष्य राखेको बताए । उनले सामुदायिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरु अंग्रेजी विषयमा कमजोर रहेको महशुस भएकाले उक्त योजना ल्याएको बताए ।
बसपार्क व्यवस्थापन गरिने
प्रदेशका ९ वटा जिल्लाको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको अत्तरिया बसपार्कलाई व्यवस्थीत गर्नका लागी पनि योजना अघि बढेको नगरप्रमुख भट्टले बताए ।
‘यो बसपार्क अहिले अव्यवस्थीत छ । म निर्वाचित भएर आउने वित्तिकै लगानी बोर्डसँग सहकार्य गरेर यसको व्यस्थापनका लागी १० करोड विनियोजित गर्न लगाएको थिए’ उनले भने ‘तर नेपाल आर्मीको भोगाधिकारमा भएकाले काम हुन सकेन, त्यसैले आर्मीको भोगाधिकार बाट नगरपालिका मातहत ल्याउने कार्यमा लागेको छु, सम्भवत केही समय भित्र नै त्यो काम हुन्छ होला ।’ त्यतिमात्रै नभई लामीतालको संरक्षण, संर्वद्धन गरेर पर्यटकिय क्षेत्र बनाउने भन्ने कुरा पनि सोही कारणले गर्दा सम्भव हुन नसकेको उनले बताए ।
लालपुर्जा वितरणको तयारी
नगरपालिकाले सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्न तयारी थालेको छ । नगरप्रमुख भट्टले बाड्ने क्रममा राखिएका केही लालपुर्जाहरु आचार संहिताका कारण बाड्न नसकिएको बताए । उनले तयारी अवस्थामा रहेको र निर्वाचन लगत्तै वितरण गरिने बताए । उनले लालपुर्जाको राजश्व बढी हुँदा पनि लालपुर्जा वितरण गर्न नसकिएको बताए । उनले राजश्व बढी भएको गुनासो नगरबासीले आफुलाई राखेको र आफुले उक्त गुनासो लगेर राष्ट्रिय भूमि आयोगलाई बुझाएको बताए । उनले आयोगबाट पनि उक्त माग जायज भएको भन्ने पत्र सम्बन्धीत मन्त्रालयमा पुगिसकेको बताए । उनले अबको नयाँ निर्वाचित सरकारले अवश्य पनि त्यो निर्णय गर्ने बताए
अतिक्रमण हटाईने
नगरभित्र खोलानाला अतिक्रमण गरि बनाईएका संरचनाहरु हटाईने नगरप्रमुख भट्टले बताए । उनले त्यसका लागी सूचना जारी गरिसकिएको पनि बताए । ‘धेरै त भन्दिन अहिले गरेन भने अवको ८/१० वर्ष भित्र अत्तरिया डुबानमा पर्ने संकेत देखिन्छ’ उनले भने ‘त्यसैले अहिले खोलानाला अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु हटाउन सूचना जारी गरेका छौ ।’ उनले निर्माण गरिएका संरचनाहरुलाई स्वस्र्फुत रुपमा हटाउन भन्नका लागि ३ महिनाको समय दिईएको र अझै पनि कसैले सुचनाको अवज्ञा गरेमा नगरपालिकाले कारबाहीको प्रकृया थाल्ने बताए ।
‘९० दिनको सूचना प्रकाशित गरेका छौ । कसैले संरचना बनाएका छन भने त्यसलाई व्यवस्थीत गर्ने समय दिईनुपर्छ भनेर ३ महिनाको पर्याप्त समय दिएका छौ, राज्यको खोलानाला मिचेर कसैले पनि बस्न पाउँदैन, त्यसमा कसैले अटेरी गरे कानुन सम्मत अगाडी बढछौ’ उनले भने ।
ओलानीमा विद्युत काउन्टर
नगरपालिकाले वडा नम्बर ११ ओलानीमा विद्युत काउन्टर राख्ने जनाएको छ । नगरप्रमुख भट्टले वडा नम्बर १०, ११ र १२ का स्थानियहरुको समस्यालाई मध्यनगर गर्दै वडा नं. ११ को गौडी बजारमा विद्युत काउन्टर राख्ने निर्णय भएको बताए ।
‘बिजुलीको सानो रकम तिर्नलाई पनि त्यसभन्दा दोब्बर खर्च गरेर अत्तरिया आउनुपर्ने बाध्यता त्यहाँका वडाबासीहरुको छ’ उनले भने ‘त्यसको समाधानका लागि विद्युत काउन्टर राख्ने निर्णय गरेका छौ, विद्युत कार्यालय सँग कुरा भैसकेको छ । चाँडै सुरु हुन्छ ।’ उनले त्यति मात्रै नभई नगरपालिकामा रहेको डिम लाईटको समस्या समाधानका लागी पनि विद्युत कार्यालयसँग समन्वय भएको बताए । उनले अत्तरियामा एउटा वितरण केन्द्र राख्नका लागी प्रकृया चालेको र उक्त प्रकृया केन्द्र तहसम्म पुगिसकेको बताए । उनले आसन्न निर्वाचन पछि अत्तरियामा जसरी भएपनि एउटा वितरण केन्द्र राख्ने लक्ष्य रहेको बताए ।

















