अछाम – अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई सम्मानित गरिएको छ । यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका – ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने स्थानीय दीपेन्द्र न्यौपाने सम्मानित भएका हुन ।
न्यौपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले बताए ।


बालकले तत्काल घटना रोक्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको बताइएको छ । मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गरे ।
कुटपिटमा परेकी सासुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जना बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















