अत्तरिया – प्रदेशकै सुगम जिल्लाका रुपमा रहेको कैलालीमा पनि धेरै पहाडी क्षेत्रहरु छन । उक्त पहाडी क्षेत्रहरुमा पछिल्लो समय मानिसका आवश्यकताका विभिन्न सेवा सुविधाहरु पुगिसकेका छन । जिल्लाका प्रायजसो पहाडी क्षेत्रमा खानेपानी, बिजुलीबत्ति, स्वास्थ्य सेवा पुगेको अवस्था छ ।
पहाडी क्षेत्रमै त्यस्तो सुविधा हुदाँ तराई क्षेत्रमा नहुने कुरै भएन । आम मानिसको सोचमा प्रायः यही आउन सक्छ, तर तराई क्षेत्रमा रहेको एउटा टोलले उक्त सोचलाई केही दिन पहिले सम्म गलत सावित गरेको थियो । जिल्लाको गोदावरी नगरपालिका – ३ मा रहेको एउटा बस्तीमा २० वर्षपछि बिजुली पुगेको छ । वडा नम्बर ३ को दक्षिण कटान टोलमा पहिलो पटक बिजुली बत्ति पुगेको हो । विगतदेखि अध्यारोमा बस्न बाध्य उक्त टोलका बासिन्दाहरुले अब भने बिजुलीको उज्यालो देख्न पाएका छन ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अघि चुनावी अभियानका क्रममा उक्त टोलमा बिजुली पु¥याउने प्रतिबद्धता व्यक्त गरेका नगरप्रमुख विरेन्द्र भट्टले चुनाव जितेको करिब दुई महिना भित्रै प्रतिबद्धता पुरा गरेका हुन । चुनावमा विजयी भएको सुरुवाती चरणमै आफ्नो टोलमा बिजुली बत्ति पु¥याएको भन्दै टोलबासीहरुले खुसी व्यक्त गरेका छन । सोमबार नगरपालिका कार्यालयमा नै पुगेर टोलका करिब १०÷१२ जना महिलाहरुले नगरप्रमुख भट्टलाई खादाले सम्मानित गर्दै धन्यवाद ज्ञापन गरे ।

‘दक्षिण कटान हाम्रो बस्ती खल्लाको किनारमा रहेको टोल हो । सुकुम्बासीबाट आएका हामी उक्त किनारमा २० बर्ष देखि नै अध्यारोमा बस्न बाध्य थियौ’ नगरप्रमुख भट्टलाई खादा लगाउदै स्थानीय माता देवी नेपालीले भनिन् ‘मेयर सापले गर्दा बिजुली पाएका छौ, उहाँप्रति धेरै आभारी छौ । उहाँले आफ्नो बचन पुरा गर्नुभएको छ ।’ उनले यसअघि बिजुली नहुँदा रातीको समयमा सर्प, बिच्छि लगायतका विषालु जनावरहरुको डरका बाबजुद पनि गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेको बताईन् ।
‘बिजुली नहुँदा तराईको गर्मीले घरभित्र बस्नै नसकिने अवस्था थियो, जसले गर्दा बाहिर सुत्थ्यौ र सर्प, बिच्छी लगायतका जनावरहरुको डर हुन्थ्यो’ उनले भनीन् ‘तर बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्क सँग बिजुली बाल्न पाएका छौ र घरभित्र सुत्न पाएका छौ ।’ उनले बिजुली बत्ति पाएपनि आफ्नो बस्तीमा अझै पनि बाटोघाटो र खानेपानीको समस्या रहेकाले उक्त समस्या पनि समाधानका लागी पहल गरिदिन आग्रह गरीन् ।
यसैगरी सोही बस्तीकी स्थानीय दिपा थापा ले नगरप्रमुख भट्टले बोलेका कुराहरु पुरा गरेकोमा खुसि व्यक्त गरिन् । ‘यसअघि पनि पटक–पटक सबै सम्बन्धीत निकायमा धायौँ, सबैलाई अनुनय विनय ग-यौ, तर कसैले हाम्रो गुनासो सुनेन’ उनले भनीन् ‘तर निर्वाचीत भएर आएलगत्तै मेयर सापले हाम्रो माग पुरा गरिदिनुभयो, उहाँलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छौ ।’ उनले विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य समुदायले पहिलो पटक बत्तिको अनुभव गर्न पाएको बताईन् ।
नगरप्रमुख भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरु आफुले पुरा गरेको बताए । ‘चुनावका समयमा भोट माग्न जाँदा उनीहरुको अवस्था देखेको थिए’ उनले भने ‘उक्त अवस्थाको अन्त्य गर्न चुनाव लगत्तै पहल गरेको थिए, सम्भव भयो र बस्तीका स्थानीयले बिजुली बाल्न पाए ।’ उनले तराई जस्तो सुगम क्षेत्र, त्यसमा पनि प्रदेशकै राजधानी घोषणा भएको नगरपालिकाका बासिन्दाले बत्ती नपाएर अध्यारोमा बस्नुपरेको अवस्था नगरपालिकाको लागी पनि लज्जास्पद कुरा भएको बताए ।

















