अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनामा मेयर सहितका १३ जनाविरुद्ध दिइएको किटानी जाहेरी अझै दर्ता नभएको पाइएको छ । पीडित पक्षसँगको सहमतिपछि प्रहरीले मंगलबार शाहीको शव घटनास्थलबाट उठाएको छ । तर पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहितका १३ जनाविरुद्ध दिइएको जाहेरी दर्ता नभएको पाइएको हो ।
मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, कांग्रेसकै पूर्व वडाध्यक्ष सज्जन शाही लगायतका स्थानीय कांग्रेस नेता कार्यकर्ताले योजनाबद्ध तरिकाले शाहीको हत्या गरेको आरोप सहित पीडित पक्षले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि पीडित पक्षले हुलाक मार्फत जाहेरी पठाएका थिए तर प्रहरीले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गर्न समेत आनाकानी गरेको पीडित पक्षको गुनासो छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले पीडित पक्षले दिएको किटानी जाहेरी दर्ताकै प्रक्रियामा रहेको बताए । उनले त्यस जाहेरीमाथि जाँचबुझ भइरहेको बताए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले पनि पीडित पक्षले हुलाकबाट दिएको किटानी जाहेरी सनाखतको प्रक्रियामा रहेको बताए ।
‘हामीले उहाँहरु (पीडित पक्ष) ले हुलाकमार्फत १३ जनालाई आरोपी बनाउँदै हुलाकमार्फत किटानी जाहेरी पठाउनुभएको छ,’ एसएसपी रावलले भने, ‘अहिले सनाखतको काम भइरहेको छ । दर्ता नगर्ने भन्ने कुरै छैन ।’
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।


















