खाेज्नुहाेस

अछाममा किशोरको शव ३ दिनदेखि घटनास्थलमै

Image
फाइल फोटो

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै स्थानीय आन्दोलित भएपछि तीन दिनदेखि शव उठाइएको छैन । १७ जेठमा बेपत्ता भएर शनिबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरिएको दाबीसहित आफन्तले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन् । उनीहरुले जाहेरी नलिएसम्म शव नउठाउने अडान लिएका छन् । प्रहरीले भने किटानी जाहेरी दर्ताकै प्रक्रियामा रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले किटानी जाहेरी दर्ताको प्रक्रियामा रहेको बताउँदै स्थानीयको आन्दोलनका कारण शव उठाउन नसकिएको बताए ।

attariya hospital

दोषीलाई कारबाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयले स्थानीय विनायक बजार बन्द गर्नुका साथै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेको घरमा समेत तोडफोड गरेका छन् ।

navjiwan hospital

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित आइतबार डीएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा सीआईबीको टोली अछाम पुगेको छ ।

तर, स्थानीयको आन्दोलनकै कारण अनुसन्धान प्रभावित हुन सक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । तर उनीहरुलाई मनाउने प्रयास जारी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) मोहनकुमार आचार्यले बताए ।

‘स्थानीयको आन्दोलन जारी भएकै कारण घटनास्थल कार्य गर्न र शव उठाउन सकिएको छैन,’ डीआईजी आचार्यले भने, ‘हामी उहाँहरुलाई मनाउन निरन्तर छलफलमा छौँ ।’ यसअघि घटनामा प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै आन्दोलित भएका स्थानीयले धनगढीबाट सीआईबीको टोली खटाएपछि अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर आइतबार प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै आक्रोशित भएका उनीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ ।