अत्तरिया – सुदूरपश्चिम प्रदेशलाई प्रर्यटकिय क्षेत्रको रुपमा चिनाउनका लागि ‘फारवेष्ट ट्राभल मार्ट – २०२२’ को आयोजना गरिने भएको छ । प्रदेशको पर्यटन पबद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते देखि २७ गते सम्म ट्राभल मार्टको आयोजना गर्न लागिएको हो । धनगढीमा आयोजना गर्न लागिएको उक्त ट्राभल मार्टमा भारत र नेपालका १५० भन्दा बढी अतिथिलाई बोलाइने जनाइएको छ ।
कार्यक्रमको बारेमा जानकारी दिन बुधबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक माया प्रकाश भट्टले नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट टाभल मार्ट आयोजना गर्न लागिएको बताए । उनले ट्राभल मार्ट मेला महोत्सव जस्तो नभएर केही सिमित व्यक्तिलाई बोलाएर गरीने कार्यक्रम भएको बताए ।

‘यो मेला महोत्सव होइन् । यसमा केही सिमित मानिसहरुलाई बोलाएर कार्यक्रम संचालन गर्दै छौ । यसमा भारतका केही मान्छेहरुलाई बोलाएर खरिद र बिक्रेता बिचको छलफल गराएर (बी टु बी) मोडेलमा छलफल हुन्छ’ उनले भने ‘यसमा २० देखि ३० जना दिल्लीबाट, नैनिताल, डेहरादुन, लखिमपुर, खटिमा लगायत बोर्डर सिटीबाट ५/५ जनाका दरले गरेर ६०/६५ जना भारतबाट आउने छन । त्यही किसिमले हामीले हरेका प्रदेशबाट ४/४ जनाका दरले बोलाएका छौ । त्यस्तै सुदूरपश्चिमका ९ वटै जिल्लाबाट २/२ जनाका दरले १५० जनालाई बोलाउने लक्ष्य लिएका छौ ।’
उनले ट्राभल मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यम सहित पर्यटन व्यवसायमा आबद्ध व्यक्तिहरुलाई सहभागी गराइने जनाइएको छ ।
उनले ट्राभल मार्टले यस क्षेत्रको पर्यटन विकासमा महत्तपूर्ण भूमिका खेल्ने बताए । ‘ट्राभल मार्टले यस क्षेत्रको प्रचार प्रसार हुने छ’ उनले भने ‘हामीहरुले उनीहरुलाई राम्रो सेवा दिन सकेको खण्डमा यसबाट पर्यटकको संख्या बढाउन मदत पुग्छ ।’

उनले ट्राभल मार्टको लागि नेपाल पर्यटन बोर्डले ३० लाख, धनगढी उपमहानगरपालिकाले ५ लाख सहयोग गरेको बताए । उनले भने ‘यस कार्यक्रममा ५५ देखि ६० लाख खर्च हुने देखिएको छ । अन्य क्षेत्रबाट सहयोग नजुटेकाले हामीले अहिलेको बजेट भित्रै रहेर कार्यक्रम संचालन गर्ने छौ ।’
पत्रकार सम्मेलनमा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले भारतका प्रयर्टनलाई सुदूरपश्चिममा ल्याउनको लागि ट्राभल मार्टले महक्तपूर्ण भूमिका खेल्नुपर्ने बताए ।


‘हामीसंग भारतसंग सीमा जोडिएका २ वटा राज्य रहेका छन । उत्तराखण्ड, उत्तरप्रदेश र नजिकै दिल्ली पनि रहेको छ’ उनले भने ‘यी क्षेत्रलाई सुदूरपश्चिम संग जोड्न सकियो र जोड्ने वातावरण श्रीजना गर्न सकियो भने यसबाट ठूलो उपलब्धि हुन्छ ।’ उनले कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्रीलाई खबर गरिएको भएपनि अहिलेनै आउने नआउने टुङ्गो नलागेको बताए ।
पर्यटन बोर्डको सिइओमा डा. धनन्जय रेग्मीले ट्राभल मार्ट देशभरका ५ वटा ठाउँमा आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रमका लागि गत बर्ष नै बजेट विनियोजन गरिएको भएपनि कोरोना महामारीका कारण कार्यक्रम हुन नसकेको बताए ।

‘अहिले सम्म नेपालगञ्ज, धरानमा ट्राभल मार्ट आयोजना भएका छन । यसअघि गरिएको ट्राभल मार्टले सो क्षेत्रमा पर्यटकको आवागमन बढेको छ । नेपालगञ्जमा हामीले ट्राभल टुर गर्दा अहिले त्यस क्षेत्रका सबै होटल बुक छन’ उनले भने ‘ट्राभल मार्टले सुदूरपश्चिममा पनि राम्रो प्रभाव पर्छ भन्ने अपेक्षा लिएका छौ । यहाँ ल्याइएका मान्छेले आफू मात्रै घुम्दैनन् आगामी दिनमा अरुलाई पनि ल्याएर आउनेछन ।’
उनले दिल्लीका मानिसलाई यो क्षेत्र घुम्ने क्षेत्रका रुपमा विकास गर्न सकिने बताए ।

धनगढीको रुवस होटलमा हुने ट्राभल मार्टमा ३० वटा स्टल रहने जनाइएको छ । जसमा सातै प्रदेशका एक÷एक वटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एक/एक गरी १६ कक्ष निःशुल्क रहने र बाँकी १४ कक्ष आफ्नो व्यवसाय प्रवद्र्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीका हुने आयोजकले जनाएको छ ।
ट्राभल मार्टको पहिलो दिन प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने जनाइएको छ ।
दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुल लगायत स्थलहरुको भ्रमण गराइने छ ।
तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा -याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ ।

















