अत्तरिया – सामान्यतया सामुदायीक वनले वन संरक्षणका लागि वनक्षेत्र घेरबार गरेको सुनिन्छ । तर, कञ्चनपुरको एक सामुदायीक वनले भने वन क्षेत्र नभएर वन संग जोडिएका गाउँ नै घेरबार गरिरहेको छ । जिल्लाको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा रहेको ग्वासी सामुदायीक वनले गाउँको चारैतिर ५ फिटको मेसिनरी वाल (पर्खाल) निर्माण गरिरहेको हो ।
सामुदायीक वनका जनावरहरुले मानिसको अन्नबालीमा क्षती गर्न थालेपछि गाउँका स्थानीयहरुको आग्रहमा वनले गाउँको चारैतिर पर्खाल निर्माण गरीरहेको वडाध्यक्ष तेज बहादुर रावलले बताए ।

उनले चारैतिर जंगलले घेरेको गाउँ भएकाले जंगली जनावरहरुले स्थानीयका अन्नबालीमा क्षती गर्न थालेपछि वनकै लगानीमा गाउँको घेरबार गर्न थालिएको बताए । उनका अनुसार गाउँको चारैतिर ५ फिट हाईट र १८ ईन्ची चौडाई भएको मेसीनरी पर्खाल निर्माण गरिनेछ । त्यसका अलावा उक्त पर्खालमाथी मेसवायर जाली पनि जडान गरीने उनले बताए ।
‘सामुदायीक वनको उचित रेखदेख भएपछि जंगलमा जनावरहरुको संख्यामा बृद्धि भएको छ’ रावलले भने ‘ति जनावरहरुले स्थानीयका अन्नवाली क्षती गर्न थालेपछि गाउँको सुरक्षाकै लागि यो योजना अगाडी सारेका हौ ।’ उनले असारभित्रै सक्ने गरी पर्खालको निर्माण कार्य चलिरहेको बताए । उनले पर्खाल निर्माणका लागि गाउँकै टोलटोलका स्थानीयहरुलाई आफ्नो आफ्नो टोलको जिम्मेवारी दिईएको बताए ।
‘एकमुष्ट समिति हामीले बनाएका छैनौ’ उनले भने ‘गाउँमा ४ वटा टोल छन, ति टोलहरुलाई आफ्नो–आफ्नो टोलको क्षेत्रभित्र निर्माण गर्ने जिम्मा दिएका छौ ।’ उनले पर्खाल निर्माणमा लाग्ने सामग्री सामुदायीक वनले उपलब्ध गराउने र मिस्त्रि र लेवरको खर्च टोलले बेहोर्ने बताए ।
उनले स्थानीयहरुको समस्यालाई समाधान गर्न नै सामुदायीक वनमार्फत पर्खाल निर्माणको योजना अघि सारिएको बताए ।

‘जनावरहरुले अन्नवाली नै सखाप गर्न थालेपछि स्थानीयहरुले दिवाल चिन्दीनुपर्छ, नत्र हाम्रो उठिबास हुन्छ भन्ने चिन्ता प्रकट गर्न थाले’ उनले भने ‘त्यसपछि सामुदायीक वनको लगानीमा काम सुरु गरेका हौ ।’ उनले पर्खाल निर्माणका लागि नगरपालिकाबाट १२ लाख रुपैया सहयोग प्राप्त भएको बताए ।
करिब ५ किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गरिने बताउदै उनले हाल ५ सय मिटर भन्दा बढी क्षेत्रमा पर्खाल पुर्ण रुपमा सम्पन्न भैसकेको बताए ।
सामुदायीक वनका अध्यक्ष खेम पाण्डेयले मानव तथा वन्यजन्तु बिचको द्धन्द न्यूनिकरणका लागि पर्खाल निर्माण गरीएको बताए । उनले सामुदायीक वनको ५० लाख बजेट र नगरपालिकाको १२ लाख लगानीमा चालु आर्थिक वर्षमा पर्खाल निर्माणको कार्य भैरहेको बताए ।
उनले स्टमेट अनुसार पर्खाल निर्माणमा करिब ३ करोड ५७ लाख लगानी लाग्ने भएपनि तत्काल बजेट अपुग भएकाले उक्त योजनालाई वहुवर्षे योजनाका रुपमा राखेको बताए ।
‘यो बर्ष वनले ५० लाख र नगरपालिकाले १२ लाख लगानी लगाएको छ । ३ करोडको स्टमेटमा सुरुवात हामीले गरेका छौ’ उनले भने ‘कार्य सम्पन्न नहुन्जेल सम्मका लागि सामुदायीक वनले पनि बजेट विनियोजन गर्नेछ । अन्य विभिन्न संघसंस्थाहरुलाई पनि सहयोग माग्नेछौ । त्यतिमात्रै नभई स्थानीय तह, प्रदेश तथा संघिय सरकारसँग पनि हामीले अनुरोध गरेका छौ ।’
उनले चालु आर्थिक वर्षमा विनियोजीत रकम बराबरको कार्य यसै आर्थिक वर्षभित्र सकिने बताए ।
संरक्षणका रुपमा २०५२ सालदेखि सुरुवात भएको र २०६० सालदेखि विधान दर्ता गरी सुरु भएको उक्त सामुदायीक वनमा निलगाई, बदेल, चित्तल, बाघ लगायतका जंगली जनावरहरुको बसोबास रहदै आएको अध्यक्ष पाण्डेयको भनाई छ ।
उक्त गाउँ चारैतिर जंगलले घेरिएको छ । चुरेको फेदीमा रहेको उक्त गाउँमा जंगली जनावरहरुले आतंक मच्चाउन थालेपछि स्थानीयहरुको आग्रहमा सामुदायीक वनले लगानी गरेको बताईएको छ ।















