अत्तरिया – नेपालबाट विदेशमा पढ्न गएर सकेसम्म विदेशमै काम गर्ने धेरै हुन्छन । तिनै मध्येका एक थिए बझाङको छविस पाथिभेरा –२ घर भइ हाल कैलालीको अत्तरियामा बस्दै आएका हिक्मत बहादुर कठायत ।
नेपालबाट ‘एचए’ गरेर युरेपियन देश साइप्रसमा बिएससी नर्सिङ पढ्न गएका हिक्मत पढाइ सकेर नेपाल फर्किएका थिए । तर, नेपालमा पढाइमा गरेको लगानी अनुसार काम नपाउने देखेपछि उनी स्वास्थ्य क्षेत्रमै काम गर्न सुरुमा मासिक १६ सय डलर तलब पाउने गरी दुबै हानीए ।

दुवैमा १४ महिना काम गरेका उनले कुँवेतमा महिनामा २ लाख ० हजार नेपाली रुपैयाँ पाउने जागिर भेटे । त्यसपछि ४ बर्ष ८ महिना कुँवेतमा काम गरेका हिक्मतको अहिले भने दैनिकी फेरिएको छ । ‘बिदेशमा दिनमा १४ देखि १ घण्टा काम गर्नु पथ्र्यो । बिहान ७ बजे देखि ड्युटी हुन्थ्यो । राती ११/१२ बजे सम्म काम गर्नु पथ्र्यो’ उनले भने ‘४ बर्ष ८ महिना सम्म एक दिन विदा नलिई काम गरे । मैले त्यता राम्रै पैसा पनि कमाएको हो ।’
लामो समय विदेशमा बसेर राम्रै कमाई गरेका हिक्मतले घर आएपछि भने विदेश जाने सोच त्यागे । ‘मैले फेरी पनि विदेश जान खोजेको हो । तर, ५/६ बर्षको सानो छोरोले विदेश नजानुस् बुवा भनेको कुरा काट्न सकेन । छोराले सबैका डेडी यही छन विदेश नजाउ भन्न लाग्यो । बुवा आमा, भाइले पनि विदेश नजाउ भने’ उनले भने ‘सबैको कुरा काट्ने साहस गर्न सकेन अनी यतै बसेर कृषि रोजेको हुँ ।’
६ महिना अगाडी बिदेशबाट नेपाल आएका हिक्मतले नेपाल आएको केही दिनमै हेमा कृषि फर्म संचालनमा ल्याएका थिए । उनले हाल ५६ लाखको निजी लगानीमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मा १५ कट्टा जग्गा भाडामा लिएर ५ हजार बोइलर कुखुरा संगै तरकारी खेती सुरु गरेका छन । ‘विदेशमा काम गरेको बानी भएर यता खालि बस्न नसकेर कृषि फर्म संचालनमा ल्याएको हु’ उनले भने ‘अहिले पहाडी क्षेत्र सहजपुरमा पनि कुखुरा फर्म संचालनमा ल्याएको छु । त्यहाँ गर्मी समयमा कुखरा पाल्न सहज हुन्छ ।’ उनले तरकारी खेतीबाट तत्कालै लाभ लिन नसकेको भएपनि कुखुरा पालनमा भने राम्रै भइरहेको बताए ।

दलालको भर परे घाटा
हिक्मतले कुखुरा पालनमा दलालबाट बच्न सके फाइदा हुने बताए । ‘कुखुरा पालनमा दलाल र दाना दिने शाहुहरुबाट बच्न सकेमा फाइदा छ ।
यहाँ उसैले दाना पनि दिने उसैले चल्ला पनि दिने अन्तिममा ऋण धेरै थुपार्ने, अनी किसानका २/४ कुखुरा मर्न थालेपछि किसान आत्तिएको मौकामा किसानबाट सस्तोमा कुखुरा किन्ने गरिन्छ’ उनले भने ‘मैले अहिले चल्ला र दाना नगद लिने गरेको छु । कुखुरा पनि आफ्नै हिसावले बिक्री गर्ने गरेको छु । अरुभन्दा राम्रो मुल्य पाएको छु । तर, यहाँ अधिकांस किसान उधारोमा चल्ला दाना लिएर सस्तोमा त्यही साहुलाई कुखुरा बेच्ने रहेछन ।’
उनले बजारमा २४० सम्म मूल्य हुँदा पनि दाना चल्ला दिने साहुले २१० मात्रै मुल्य दिने गरेको बताए । उनले दाना चल्ला दिने साहुबाट जोगिनसके बोइलर कुखुरामा कमाइ राम्रै हुने बताए ।

कुखुरा पालक किसानको अर्को समस्या भनेको सीमा नाकाबाट आयात हुने कुखुरा रहेको उनको बुझाई छ । ‘प्रशासनले २÷४ कुखुरा ल्याउनेलाई पक्राउ गरेजस्तो गरेपनि जो गाडीका गाडी ल्याउछन तिनीहरुलाई भने सेटिङ मिलाएर नेपाल ल्याउन दिने गरेको छ’ उनले भने ‘अब मैले दाना चल्ला नगद ल्याउने र यिनीहरुलाई नबेच्ने योजना बनाएको छु ।’
उनले सुरुको लटमा काम गर्न नजान्दा धेरै कुखुरा मरे पनि त्यसपछि भने घाटा नभएको बताए । ‘सुरुमा १०/१२ क्विन्टल मरेका थिए । तर, पनि मैले बाँकी कुखुरा आफै बजारमा घुमाएर बिक्रि गरे । दोस्रो लटमा भने राम्रै भएको छ । अहिले चौथो लट हाल्दै छु’ उनले भने ‘अब आफ्नै कुखुरा कटिङ र पहाडी क्षेत्र खानीडाँडाँ, सहजपुरमा पनि फर्म निर्माण गरिसकेको छु ।’
विदेशको जस्तै नेपालमा कमाई गर्ने योजना
लाखैंको कमाई छोडेर कृषिमा लागेका हिक्मत अहिले कृषिबाट पनि बिदेशमा जस्तै कमाई गर्ने सोचमा छन । कृषि फर्ममा दैनिक १८ घण्टा सम्म खटिने उनी यहाँ पनि मेहनत गर्न सके बिदेशको जस्तो कमाउन सकिने बताउछन । ‘बिदेश जस्तो कमाइ त छैन । अरुको नौकर हुन सजिलो छ । अरुले यस्तो गर उस्तो गर भन्दा काम गरिन्छ । बाध्यताले पनि गरिन्छ । तर, यता तनाब भएपनि आफ्नो काम हो । एक दिन सफल हुन्छु भन्ने बिश्वास छ’ उनले भने ‘अहिले विदेशको जस्तो कमाइ नभएपनि म त्यस्तै कमाइ हुने बनाउने प्रयासमा छु ।’
उनले दुःख बिदेशको जस्तै गरिरहेको भएपनि यहाँ आफ्नै घरमा मिठो खाएर काम गर्न पाइएकोमा खुसी लाग्ने गरेको बताए । उनले अहिले आफ्नो फर्ममा प्रत्यक्ष रुपमा ५ जनाले काम पाएको बताए ।

राज्यले झोलेलाई मात्रै सहयोग गर्छ
सुरुमा कृषिमा लागेका उनले राज्यका बिभिन्न निकाय संग पनि सहयोगका लागि आग्रह गरेको बताए । उनले सहयोगका लागि बिभिन्न निकायमा गएपनि सहयोग कतैबाट नपाइएको बताए । कृषिमा सरकारले सहयोग गर्छ भन्ने आशा मरेको उनले बताए । ‘सुरुमा केही सरकारी निकायमा गएको थिए’ उनले भने ‘स्थानीय तहमा गएपछि प्रदेशमा जा भन्छ । प्रदेशमा गए ज्ञान केन्द्रमा जा भन्छन । ज्ञान केन्द्रले फेरी प्रदेशमा पठाउँछ । अनी पछि दिपायल पनि जा भन्यो । यो दिक्क लागेर म यसमा जानै छोडे ।’
उनले कृषिको अनुदान नेता र तिनका झोलेले मात्रै पाउने गरेको बताए । उनले भने ‘कृषिमा समस्या अली नेता र तिनका झोलहरुको कारणले भएको छ । उनीहरुले झोलामा फर्म दर्ता गरेर बजेट खाने काम गरेका छन । यस्ता ४/५ जना त मैले पनि चिनेको छु ।’
भिडियो

















