अत्तरिया – बुवाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ निवासी अमर सुनार परिवारको जिविकोपार्जन गरिरहेका छन । बुवाबाट मुर्ति कोर्न सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन र त्यहीबाट आफ्नो र परिवारको जीवन धानेका छन । १७ वर्षको उमेरदेखि नै उनले निरन्तर रुपमा मुर्ति कोर्दै आएका छन । मुर्ति बनाउने कला बुवाबाट सिकेको उनी बताउँछन ।
‘बुवाले सुनारको काम गर्नुहुन्थ्यो, तर बिचबिचमा उहाँले कसैले अर्डर दिए मुर्तिहरु पनि बनाउनुहुन्थ्यो’ अमरले भने ‘बुवालाई मुर्ति बनाउन देखेर नै मैले पनि सिके, म स्कुलमा पढ्दै गर्दादेखि नै मुर्ति बनाउदै आएको छु ।’ उनले अहिले आफुले पनि अर्डर अनुसार मुर्ति बनाउने गरेको बताए । उनले जस्तो सुकै प्रकारको पनि मुर्ति बनाउन सक्ने बताए ।

‘अहिले व्यवसायीक रुपमा आफै बनाएर बेच्ने गरेको छैन’ उनले भने ‘तर कसैले अर्डर दियो भने अर्डर अनुसारको मुर्तिहरु बनाउने गरेको छु ।’ मुर्ति बनाएर नै आफुले ७ जनाको परिवार पालेको उनी बताउँछन् । उनले आफुले सानै देखि मुर्ति कोर्ने काम गरेकाले त्यसैमा आनन्द आउने गरेको बताए । ‘बचपन देखि नै मुर्ति कोर्दै आईरहेको छु’ उनले भने ‘मलाई यसैमा आनन्द आउँछ, यसले नै मलाई र मेरो परिवारलाई धानेको छ ।’
उनले सुरुवाती चरणमा आफुले घरघरमा गएर मुर्ति बनाउदै आएको भएपनि १० वर्ष अघिदेखि मात्रै पसल खोलेर अर्डर लिई मुर्ति बनाउन थालेको बताए ।
उनले कृष्णपुर नगरपालिका वडा नं. ५ मौरीफाँटामा रहेको आफ्नै घरमा डाडाँबाग मुर्ति भण्डार नामक पसल सञ्चालन गरेर मुर्ति बनाउदै आएका छन ।


उनले मुर्ति निर्माणका लागि सुदूरपश्चिमका सबै जिल्लाहरुबाट अर्डर आउने गरेको बताए । ‘मुर्ति निर्माणका लागि यहाँका मात्रै नभई पहाडी सबै जिल्लाहरुबाट अर्डर आउँछन’ उनले भने ‘अर्डरकर्ताले आवश्यक परेको मुर्तिको फोटो ल्याउछन, त्यही हेरेर मैले मुर्ति कोर्छु ।’
उनले मुर्ति बनाएर नै आफुले मासिक २५ देखी ३० हजार सम्म कमाउने गरेको बताए । ‘महिनामा खर्च कटाएर २५ देखी ३० हजारसम्म आम्दानी भैरहेको छ’ उनले भने ‘मुर्ति बनाएर नै मैले ७ जनाको परिवार पाल्दै आएको छु ।’ आफुले मुर्तिको साईज हेरेर पैसा लिने गरेको उनी बताउछन । ‘मुर्तिको साईज हेरेर पैसाको कुरा गर्छु, किनकी ठूलो मुर्ति बनाउन समय पनि बढी लाग्छ र खर्च पनि बढी आउँछ’ उनले भने ‘समय र खर्चको आधारमा मुर्तिको मुल्य निर्धारण गर्छु, कुनै मुर्ति बनाउन त ३ देखी ४ महिनासम्म लाग्छ ।’
हाल उनले अर्डरका दुई वटा मुर्तिहरु बनाईरहेका छन । ति दुई ओटा मुर्ति बनाउन ३ महिना भन्दा बढी समय लागेको उनले बताए । ‘यो एउटा मुर्ति मंसिर देखि सुरु गरेको हु, अझै सकिएको छैन’ उनले भने ‘यसमा मेरो ३ महिना समय र २५ देखी ३० हजार खर्च भैसक्यो, त्यसैले यसको मुल्य पनि बढी छ ।’
मुर्ति निर्माणकै कामबाट उनले आफ्नो परिवारको राम्रोसँग लालनपालन गरिरहेका छन । उनले कृष्णपुर नगरपालिका – ५ मा आफ्नै घरमा मुर्ति निर्माणको काम गर्दै आएका छन । मुर्ति कोर्नका लागि आवश्यक पर्ने सामग्रीहरु पनि आफैले बनाउने गरेको उनले बताए । ‘मुर्ति कोर्ने सामग्री बजारमा पाईदैनन् त्यसैले आफैले सामान बनाएर मुर्ति कोर्छु’ उनले भने ।
मुर्ति कोर्न थालेको करिब ३० वर्ष भन्दा बढी भैसक्दा पनि हालसम्म कुनै ठाउँमा तालीम नलिएको उनले बताए । उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालीम सञ्चालन गरेपनि मुर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे ।
‘अरु व्यवसायका लागि तालीमहरु आउछन, तर मुर्ति बनाउने कला सिकाउनका लागि आजसम्म त्यस्ता तालीमहरु आएका छैनन’ उनले भने ‘मुर्ति बनाउन ईच्छुक धेरै मानिसहरु छन, तर त्यस्ता मानिसहरुलाई सिकाउनका लागि प्रशिक्षक दिने, तालीम प्रदान गर्ने काम हालसम्म भएको छैन ।’ उनले मुर्ति बनाउनका लागि पनि तालीमहरु आयोजना गरिनुपर्ने बताए । उनले व्यवसायीक रुपमा मुर्तिको बजार राम्रो रहेको बताए ।
‘बजारमा मुर्तिको माग पनि राम्रै छ’ उनले भने ‘तर हामीले यसलाई व्यवसायीक रुपमा लैजान सकेका छैनौ ।’ उनले मुर्ति बनाउने तालीमको आयोजना भए यसको व्यवसायीक कारोबार बढ्ने आशा व्यक्त गरे ।















