खाेज्नुहाेस

कञ्चनपुर र कैलालीमा विद्युतीय राहदानी सेवा सञ्चालन

Image

कञ्चनपुर – कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचार अनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने काम बन्द गरेको थियो । एक महिनादेखि राहदानीको रोकिएको काम आजदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।

attariya hospital
navjiwan hospital

‘दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो । अब त्यो सेवा जिल्लाबाटै उपलब्ध हुन्छ ।’

विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ। विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ ।

सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् । कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।

रासस