कञ्चनपुर– कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६ महिनाको अवधीमा ढाई हजार बढी पर्यटकले भ्रमण गरेका छन । चालु आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ हजार ६३४ जना पर्यटकले भ्रमण गरेका हुन ।

निकुञ्ज कार्यालयका अनुसार भ्रमण गर्नेमा १ हजार ६२९ जना पुरुष र १ हजार ५ जना महिला रहेका छन । त्यस्तै निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या २ हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी २४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी ११२ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा ६२१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा ५८०, मङ्सिरमा २९३, पुसमा ३७६, माघमा ३६९ र फागुनमा ३८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको उनले बताए । पर्यटनबाट १४ लाख ६७ हजार ४८६ रुपैया राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताए ।
निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ३ हजार ७६२ जनाले यहाँ भ्रमण गरेका थिए । जसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा १९९ जना सार्क मुलुकका र १५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका थिए ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

















