अत्तरिया – कैलालीको अत्तरियामा जारी एभरेष्ट फुटबल टुर्नामेन्टको उपाधीका लागी दुर्गालक्ष्मी नमुना मावि र माउन्ट ओलीभ स्कुल भिड्ने भएका छन । शुक्रबार भएको सेमिफाईनल खेलमा आफ्ना प्रतिष्पर्धीहरुलाई पराजित गर्दै दुवै टोली उपाधीका लागी भिड्ने भएका हुन ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा ईम्मानुयल स्कुललाई २–० ले पराजित गर्दै दुर्गालक्ष्मी ले उपाधीको दावेदारको रुपमा फाईनलमा स्थान बनाएको छ । खेलको पहिलो हापको पहिलो मिनेटमै दुर्गालक्ष्मीका खेलाडी प्रदिप मिजारले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो मिनेटमै अग्रता कायम गरेको दुर्गालक्ष्मीले त्यसपछि भने पहीलो हाफमा गोल गर्न सकेन । न त ईम्मानुयल ले नै गोल फर्काउन सक्यो । १–० को अग्रताका साथ दोस्रो हाफमा उत्रिएको दुर्गालक्ष्मीले खेलको ५६ औ मिनेटमा फेरी गोल गरेर फाईनलको यात्रा तय ग¥यो । दोस्रो हाफमा दुर्गालक्ष्मीका सुरेश रावलले गोल गरेका थिए ।
निकै उत्कृष्ट खेल प्रर्दशन गरेका दुर्गालक्ष्मीका खेलाडी प्रदिप मिजार खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. ५ सय ५० रुपैया प्राप्त गरे ।

यसैगरी प्रतियोगीता अन्तरगत शुक्रबार भएको दोस्रो सेमिफाईनल खेलमा माउन्ट ओलिभ स्कुल विजयी भएको छ । प्रतिष्पर्धि सैनिक आवाशिय माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै माउन्ट ओलीभ उपाधीका लागी भिड्ने भएको हो ।
निकै रोमाञ्चक बनेको दोस्रो खेलको पहिलो हाफमा नै सैनिकले अग्रता लिएको थियो । पहिलो हाफको ७औ मिनेटमा सैनिकका रोहित धामीले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर पहिलो हाफको २९औ मिनेटमा माउन्ट ओलिभका जिवन बि.क ले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पु¥याएका थिए ।
त्यसपश्चात दुवै टिमबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा माउन्ट ओलिभले ३–२ गोलअन्तरले विजयी हासिल गर्दै फाईनलको यात्रा तय गरेको हो ।
खेलमा उत्कृष्ट प्रर्दशन गरेका सैनिकका खेलाडी आशिष महर म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. ५ सय ५० प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने खेल संयोजक धर्मराज भट्टले बताए । उनले प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ सय ५० रुपैया नगद पुरस्कार दिईने खेल बताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचको प्रायोजन भने अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबले गरेको उनले बताए । प्रतियोगीताको म्यान अफ द सिरिजलाई १ हजार ५ सय दिईने बताईएको छ ।
















