अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष भन्दा दुई गुणाले आफ्नो कारोबार बढाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा २ करोड २० लाख २३ हजार ५९ रुपैयाको कुल कारोबार गरेको संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म दुई गुणा बृद्धि गर्दै ४ करोड ब८२ लाख १४ हजार ७ सय ३९ पु-याएको हो ।

शनिबार संस्थाको सातौ वार्षिक साधारण सभाको समापन कार्यक्रममा संस्थाको आर्थिक र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति संयोजक पदम साउँदले संस्थाले आर्थिक वर्ष २०७६/०७७ भन्दा आर्थिक वर्ष २०७७/०७८ मा दुई गुणा बढी कारोबार गरेको बताए । उनले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा संस्थाको नाफामा पनि बृद्धि भएको बताए । गत वर्षको संस्थाले २ लाख ८८ हजार ४ सय ५१ रुपैया नाफा गरेकोमा यस वर्ष ६ लाख ११ हजार ९३ रुपैया नाफा आर्जन गरेको उनले बताए ।
संस्थाका अध्यक्ष खडक ओलीको सभापतित्वमा आयोजित समापन कार्यक्रमकी प्रमख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन भने विशिष्ठ अतिथिमा वडा नं. ७ का वडाध्यक्ष हेमराज ओझा रहेका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले सहकारी भनेको नेपालको अर्थतन्त्रको बलियो खम्बा भएको बताईन ।
उनले सहकारीले शेयरसदस्यहरुलाई विभिन्न आयआर्जन मार्फत जिविकोपार्जन सुधारका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने बताईन । उनले सरकारले पनि किसानको समस्याहरु उजागर गर्नका लागी पहल गरिरहेको बताईन । किसानहरुको खेतीका समयमा मल नपाउने समस्या समाधानका लागी नगरपालिका तत्पर रहेको उनले बताईन ।

उनले छाडा चौपायाको व्यवस्थापनका लागी नगरपालिकाले पहल थालेपनि नसकिएको बताईन । ‘छाडा चौपाया व्यवस्थापनका लागी नगरपालिकाले पहल थालेकै हो’ उनले भनीन ‘तर हामीले नै दुध दिउन्जेल सम्म गाई पाल्ने र त्यसपछि बजारमा लगेर छाड्ने गरेका कारण समस्या भैरहेको छ ।’ उनले छाडा चौपायाको समस्या नगरमा मात्रै नभई जिल्लामै रहेको बताईन । छाडा चौपायाको व्यवस्थापन जनप्रतिनिधिले मात्रै गर्न नसक्ने र सबै समुदायका मानिसहरुको सहयोग आवश्यक रहने उनले बताईन ।
यसैगरी वडाध्यक्ष हेमराज ओझाले कृषि सहकारी भएका कारण सहकारीले कृषि क्षेत्रलाई विशेष महत्वका रुपमा हेर्नुपर्ने बताए । उनले किसानलाई बिउ उपलब्ध गराउने तथा मल उपलब्ध गराउनतिर सहकारी अग्रसर रहनुपर्ने बताए ।
यसका साथै उनले सहकारीले तरकारी संकलन केन्द्र र दुध संकलन केन्द्र स्थापना गर्न जरुरी रहेको बताए । उनले किसानले उत्पादन गरेको तरकारी र दुध संकलनले किसानहरुलाई र सहकारी दुवैलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे ।
२०७१ साल पुष महिनामा २६ जना शेयरसदस्यहरु र ३ लाख ९० हजार शेयरपुजिँबाट स्थापना भएको संस्थामा हाल ७ सय ९५ जना शेयरसदस्य र ३६ लाख १७ हजार १ सय शेयरपुजिँ रहेको संस्थाका कार्यवाहक प्रबन्धक राज बहादुर शाहले बताए ।
संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रबन्धक शाहले संस्थाले आगामी दिनहरुमा शेयरसदस्यहरुलाई कृषि सम्बन्धी तालीम दिनुका साथै सिजन अनुसार धान र गहुँको विउ वितरण गर्ने योजना ल्याएको बताए । यसका साथै संस्थामा आवद्ध सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्ने पहल गर्ने र अन्य विभिन्न सामाजिक कार्यहरुमा संस्था अग्रसर रहने पनि उनले बताए ।
कार्यक्रममा २६ जना संस्थापक शेयरसदस्य र ४ जना अन्य विभिन्न विधाका गरी ३० जनालाई सम्मानित गरिएको थियो । संस्थाकी सञ्चालक समिति सदस्य कलावती साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सदस्य प्रेमराज पाठकले गरेका थिए ।

















