अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंसिर १५ गतेदेखी सुरु गरिएको साधारण सभा एक कार्यक्रमका बिच बिहिबार सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका – ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले कृषि सहकारी किसानहरुको हकहित र किसानहरुको जिविकोपार्जनका लागी स्थापित संस्था भएको बताए । उनले किसानहरुलाई कृषि सहकारीहरुले दिएको सेवा सुविधाका बारेमा संस्थाका शेयरधनीहरुले पनि विचार पु-याउन जरुरी रहेको बताए । उनले मेहनत र परिश्रमले नै मानिस अगाढी बढ्न सक्ने धारणा राखे ।
‘आफु बढ्न र समाज अगाडी बढाउन श्रम र मेहनत आवश्यक छ’ उनले भने ‘मेहनती मानिसले आफ्नो सिपको आधारमा मेहनत गरेर आफ्नो जिवनस्तर माथी उकास्न सक्छ ।’ उनले नगरमा भएका नगरबासीहरुको जिवनस्तर माथी उठे मात्रै नगरको आर्थिक समृद्धि हुने बताए । ‘हामी विदेशमा १२÷१२ घण्टा काम गर्न तयार हुन्छौ, तर स्वदेशमा गर्दैनौ’ उनले भने ‘विदेशमा गरिने मेहनत स्वदेशमा गर्न सके हामी आफै आत्मनिर्भर बन्न सक्छौ नी ।’
उनले परम्परागत रुपमा गरिदै आएको कृषि कर्मलाई पनि व्यवसायीक रुपमा अगाडी बढाउन सके आयआर्जन बढाउन सकिने बताए । उनले सहकारीहरुले उद्योग सञ्चालन गर्न जरुरी रहेको बताए । ‘सहकारीले कुनै न कुनै उद्योग खोले दैनिक रुपमा उपभोग गरिने बस्तुहरु स्थानियस्तरबाट नै खपत गर्न सहज हुन्थ्यो भन्ने मेरो मान्यता छ’ उनले भने । यसका साथै उद्योगले स्थानिय स्तरमा रोजगारीका अवसरहरु पनि सृजना गर्ने उनले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष नरेश अधिकारीले सबैको मेहनत र लगनशिलताले सहकारी जवानीमा प्रवेश गरेको बताए । उनले अब संस्थाले आफुलाई जवानीमा पु-याउने शेयरसदस्यहरुलाई सेवा दिनुपर्ने बताए । कोरोनाका कारण र बेमौषमी वर्षाका कारण ज्यान गुमाउन पुगेका र ठुलो क्षती ब्यहोरेका शेयरसदस्यहरुलाई संस्थाले पहिलो प्राथमिकतामा राखेर कार्य थाल्नुपर्ने उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद चौधरीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका लेखा समिति सदस्य प्रेमराज पाठकले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी संस्थाका लेखा समिति संयोजक चक्र बहादुर बमले गत वर्षको लेखा परिक्षण प्रतिवेदन, पशुबिमा समितिका संयोजक भक्त बहादुर शाहुले पशुबिमा प्रतिवेदन र मुख्य प्रबन्धक टेकराज भट्टले संस्थाको वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अन्तर समुहबाट छनौट भई आएका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
संस्थाकी उपाध्यक्ष कुन्ती देवी मडैको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले गरेका थिए । कोरोनाको महामारीका कारण एकै ठाउँमा भेला गरी सभा आयोजना गर्न नसकिने भएपछि संस्थाले चरणबद्ध रुपमा साधारण सभा आयोजना गरेको थियो ।
२०५३ साल चैत २९ गते ३५ जना शेयरसदस्यको ३ हजार ५ सय शेयरपुँजिबाट सुरुवात भएको संस्थामा हाल ४ हजार ७ सय ४६ जना शेयरसदस्य रहेका छन भने संस्थाको शेयरपुँजि ३ करोड ५४ लाख १० हजार ९ सय रहेको छ । संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दछ ।
त्यसका साथै संस्थाले आफ्ना सदस्यका छोराछोरीहरुलाई कृषि तालिमका लागी ईजरायल समेत पठाउदै आएको मुख्य प्रबन्धक टेकराज भट्टले बताए । गोदावरी नगरपालिका वडा नं. ४, ६, ७, ८, ९ का साथै धनगढी उपमहानगरपालिका वडा नं. ३, ११, १३ र चुरे गाउँपालिका वडा नं. १ र २ मा पनि संस्थाको कार्यक्षेत्र रहेको छ । संस्थाले धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीमा र चुरे गाउँपालिकाको वडा नं. १ शिवनगरमा गरी २ वटा शाखा खोलेर सेवा विस्तार समेत गरेको छ ।
करिब ५ गुणा बढी मुनाफा आर्जन
संस्थाले गत आर्थिक वर्षको भन्दा करिब ५ गुणा बढी मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले करसहित रु. ४२ लाख ३६ हजार ६ सय १४ रुपैया मुनाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म संस्थाले रु. १ करोड ९३ लाख ७० हजार २ सय ६७ रुपैया मुनाफा आर्जन गरेको छ ।
यसवर्ष संस्थाले अन्य वर्षको तुलनामा कारोबार पनि बढी गरेको संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले बताए । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले कुल ४१ करोड १० लाख ४० हजार ४ सय ६ रुपैयाको कारोबार गरेकोमा यस वर्ष संस्थाले कुल रु. ४७ करोड ८५ लाख ६१ हजार २५ रुपैयाको कारोबार गरेको छ । उनले यसवर्ष कोरोनाको सन्त्रास कम भएकाले कारोबार बढी हुँदा मुनाफा पनि बढी भएको बताए ।
















