खाेज्नुहाेस

अत्तरियामा फेरी सुरु भयो सरसफाई अभियान

Image

अत्तरिया – सोमबार बिहान कैलालीको अत्तरिया बजारमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीका जवानहरुको हातमा झाडु थियो । उनीहरु मास्क र हातमा पञ्जा लगाएर बजार सरसफाई गरिरहेका थिए ।

तथ्य बुझ्दा गोदावरी नगरपालिकाले आयोजना गरेको बृहत ३ दिने सरसफाई अभियान अन्र्तगत उनिहरुले बजारमा फोहोर सफा गरिरहेका रहेछन ।

attariya hospital

बजारमा नियमित रुपमा नगरपालिकाका कर्मचारीले फोहोर उठाउने भएपनि भएका ठेला छाप्राहरुको उचित व्यवस्थापन नहुँदा र बसपार्कमा रहने भिडले जथाभावी फोहोर फाल्दा बजार सफा भने बन्न सकेको थिएन ।

त्यसको न्यूनिकरणका लागी नगरपालिकाले अभियानको सुरुवात गरेको रहेछ । तर नगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी, अन्य यहाँका संघसंस्था भन्दा पनि प्रहरीहरुको सहभागीता बढी देखियो ।

नगरपालिकामा भरखरै नियुक्त भएर आएका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले तत्काल निर्देशन दिदै बजार सरसफाईको अभियान सुरु गरेका रहेछन । अभियान अन्र्तगत बृहत रुपमा प्रत्येक दिन बिहान अत्तरिया बजारमा सरसफाई गरिने नगरपालिकाका फोहोरमैला व्यवस्थापनका सुपरभाईजर परमल महराले बताए ।

navjiwan hospital

‘नगरपालिकाले ३ दिने अभियान सुरु गरेको छ’ उनले भने ‘यस अभियानमा प्रत्येक दिन यहाँका संघसंस्था, प्रहरी, सेना, क्लब तथा अन्य स्थानियहरुको सहभागीतामा बजारका सम्पुर्ण क्षेत्रमा सरसफाई गरिनेछ ।’

उनले विगतदेखी नै सरसफाईलाई विशेष महत्व दिएर नगरपालिकाले काम गरिरहेको भएपनि व्यवस्थापन हुन नसक्दा अभियान नै सञ्चालन गरिएको बताए । ‘अभियानमा सबैसँग समन्वय गरेका छौ’ उनले भने ‘सरसफाई अभियानका साथै यहाँका व्यापारीहरुलाई चेतना पनि जगाउने हाम्रो लक्ष्य रहेको छ ।’

उनले सरसफाईको काम र अनुगमनलाई नियमितता दिने बताए । ‘अबदेखी नगरपालिकाले काम पनि गर्ने र अनुगमन पनि गर्ने गर्छ’ उनले भने ‘ठेलाछाप्रा व्यवसायीहरुलाई पनि भन्छौ, यदी कसैको पसल अगाडी फोहोर देखिन्छ भने केही दिन सम्झाउँछौ फेरी पनि मानेनन भने कारबाही गर्छाै ।’

अभियानमा पहिलो दिन प्रहरी र सशस्त्र प्रहरीको सहभागीता रहेको र दोस्रो दिन नेपाली सेना तथा तेस्रो दिन नगरका क्लब तथा अन्य संघसंस्थाहरुका पदाधिकारीहरुको सहभागीता रहने उनले बताए ।

उनले महिनाको २ चोटी अनिवार्य रुपमा अत्तरिया बजारमा बृहत सरसफाई गरिने बताए । ‘सरसफाईलाई अनुगमन तथा मुल्यांकन गर्ने काम दैनिक चल्छ तर बृहत रुपमा बजार सरसफाई गर्ने काम हामी महिनाको २ चोटी अनिवार्य गर्छाै’ उनले भने । नगरपालिकाले बसपार्कको क्षेत्र पनि फराकिलो बनाउन लागेको उनले बताए ।

बजारमा ठेलाछाप्राको बिगविगी बढेको र त्यस्ता ठेलाछाप्रालाई व्यवस्थीत गर्न बसपार्कको क्षेत्र फराकिलो बनाउन लागिएको महराले बताए । ‘बजारमा रहेका न्युन वर्गका समुदायलाई व्यवस्थापन गर्न हामी बसपार्क फराकिलो बनाउदैछौ’ उनले भने ‘उनिहरुको जिविकोपार्जनका लागी अस्थायी रुपले नगरपालिकाले स्थान दिने हो ।’ उनले बसपार्कमा ठाउँ भए बजारमा हुने यातायातको पार्किङ समस्या पनि समाधान हुने बताए ।

उनले बसपार्कमा ठाउँ पुगे हाटबजारको लागी पनि तयारी थालिएको बताए । प्रमुख प्रशासकिय अधिकृतको रुपमा गोदावरी नगरपालिकामा आएका खेमराज विष्टले यस अघि पनि यस्तो अभियानको थालनी गरेका थिए ।

नगरपालिकामा आएको सुरुवाती चरणमा उनले अभियान सुरु गरेपनि निरन्तरता दिन सकेका थिएनन । नगरपालिकामा आउने वित्तिकै सरसफाईको डंका फुकेर तातिने र केही दिन पछि वेवास्ता गर्ने उनको पुरानो प्रवृत्ति दोहोरिन्छ या नियमीत सफाई हुन्छ त्यो हेर्न भने बाँकी नै छ ।