अत्तरिया – कैलालीको ओलानीका एक हजार महिला तथा किशोरीहरुलाई निशुल्क प्याड वितरण गरिने भएको छ ।
डे फर गल्स नामक संस्थाले गोदावरी नगरपालिका वडा नं. ११ र १२ का ५ सय महिला र ५ सय किशोरी गरी १ हजार जनालाई निशुल्क प्याड वितरण गर्न लागेको हो ।

संस्थाकी निर्देशक माया खाईतुले महिनावारी स्वास्थ्य अन्तरगत वडाका एक हजार महिला तथा किशोरीहरुलाई प्याड वितरण गर्न लागिएको बताईन ।
उनले नगरपालिकाको विकट वडाहरु भएकाले यहाँ प्याडको उपयोगीताको बारेमा जानकारी दिलाउन पनि निशुल्क रुपमा प्याड वितरण गर्न लागेको बताईन । उनले वितरण गरिने प्याडहरु धोएर पुनः प्रयोग गर्न मिल्ने हुने बताईन ।

उनले यहाँको छाउपडि प्रथाको समस्या समाधानका लागी नै डे फर गल्स संस्थाले पहल चालेको बताईन । वितरण गरिने प्याडको प्याकेटमा २ वटा सिल, ८ वटा लाईनर, एउटा साबुन, २ वटा पेन्टि, एउटा सानो रुमाल, एउटा जिपलक ब्याग र एउटा कपडाको ब्याग रहने उनले बताईने ।
उनले संस्थाले देशका विभिन्न १५ स्थानमा धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडहरु उत्पादन गर्ने गरेको बताईन । उनले महिनावारीका बेला महिला माथी गरिने विभेदको अन्त्यका लागी पनि संस्थाले आगामी दिनमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उनले बताईन ।
यसैगरी वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले महिनावारी अन्त्यका संस्थाले गरेको काम सह्रानिय भएको बताए । ‘गोदावरीका विकट वडाहरु ११ र १२ का वडाबासी अझै पनि हामी १५औ शताब्दीको अवस्थामा छौ जस्तो लाग्छ’ उनले भने ‘अझै पनि यहाँको चालचलन र रितिरिवाज परम्परागत नै छ ।’
उनले आफु निर्वाचित भएर आईसकेपछि मात्रै करीब ४ सय ओटा छाउपडि गोठहरु सबैसँगको सहकार्यमा भत्काउन सफल भएको बताए । विगतदेखी नै वडाबाट पनि छाउपडि र महिला हिंसा सम्बन्धी कार्यक्रमहरु गर्दै आएको बताउदै उनले आगामी दिनहरुमा पनि छाउपडि न्युनिकरणको लागी आफ्नो सहयोग रहने बताए ।
खुला दिशा मुक्त अभियानलाई सफल बनाएजस्तै छाउपडिमुक्त समाजको अभियानलाई सफल बनाउनसुरुवाती चरणमा जनचेतनामुलक कार्यक्रम पनि आवश्यक भएको वडाध्यक्ष खड्काले बताए ।
बिहिबार ओलानीमा प्याड वितरण सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा वडाध्यक्ष खड्का सहित, वडा नं. ११ का वडासचिव चन्द्र बहादुर कामी, वडा नं. १२ की वडासदस्य राधिका जोशी लगायत दुई वटै वडाका स्वयम्सेविका, शिक्षक र सामाजिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी फिल्ड प्रशिक्षक जानकी सिँहले गरेकी थिईन ।


















