अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष जगदिश भट्टको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य देवराज पाठक रहेका थिए भने विशिष्ठ अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का केन्द्रिय सञ्चालक तथा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव कुमार जोशी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले सहकारीहरुले नै देशको आर्थिक समृद्धि गर्ने बताए । उनले सहकारीहरुले महिला समृद्धिका विषयमा पनि कार्य गर्दै आईरहेका बताए ।
कोरोना महामारीका बिचमा पनि संस्थाले राम्रो प्रगती गरेको बताउदै उनले सहकारीमा महिला सहभागीता बढी भएका कारण उक्त कार्य सम्भव भएको बताए ।
बैंकिङ्ग कार्य गर्नका लागी घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य सहकारीहरुले गरेको उनले बताए । उनले सहकारीको प्रगतीको कामना गरे ।
यसैगरी कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष जोशीले साधारण सभामा महिलाको सहभागीता बढी भएको बताए ।
उनले संस्थामा पनि महिला सदस्य बढी भएको औल्याउदै संस्थाको कार्यसमितिमा महिलालाई समेट्न सुझाव दिए । महिलाहरु ईमान्दार एवम् लगनशिल हुने बताउदै उनले संस्थाको कार्यसमितिमा महिलालाई समावेश गरे संस्था अझै प्रगतीको पथमा लम्कने बताए ।

कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष आशुराम चौधरी, वडा नं. ४ का वडासदस्य ईश्वरी दत्त भट्ट लगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिव गणेश बहादुर मल्लले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खगेन्द्र प्रसाद ओझाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट व्यक्ति एवम् समुहलाई सम्मानित गरिएको थियो ।
२०६७ सालमा ११३ जना शेयरसदस्यहरु र ११ लाख ३० हजार शेयरपुजिँबाट सञ्चालित उक्त सहकारीमा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म ४ हजार ७ सय ७३ जना शेयरसदस्यहरु र १ करोड ११ लाख ९ हजार शेयरपुँजी रहेको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष खगेन्द्र प्रसाद ओझाले जानकारी गराए ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म जम्मा १९ करोड २२ लाख ६० हजार ७ सय १३ रुपैयाको आर्थिक कारोबार गरेकोमा ५१ लाख २३ हजार ९ सय ९४ रुपैया खुद नाफा आर्जन गरेको उनले बताए ।

यसैबिच संस्थाको नयाँ निर्माण भैरहेको भवनको शिलान्यास गरिएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री तारालामा तामाङ्गले संस्थाको नयाँ निर्माण हुने साढे ३ तले १३ कोठे भवनको शिलान्यास गरेका हुन ।
संस्थामा आवद्ध सदस्यहरुको कार्यसम्पादनमा सहजता ल्याउन संस्थाको आफ्नै भवन निर्माण गर्न लागिएको संस्थाका कोषाध्यक्ष ओझाले बताए । करिब १ करोड लगानी लाग्ने उक्त भवन नयाँ आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी कार्य थालिएको उनले बताए ।


















