अत्तरिया – कैलालीको अत्तरियामा बहिरोपना अपांगता रोकथाम सम्बन्धी २ दिने अन्तरगत कार्यक्रम सुरु भएको छ । ईम्याक्ट नेपाल र सिबिएम को आर्थिक सहयोगमा अपांग एकता समाज कैलालीले कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष अनिल कुमार मल्लको सभापत्विमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी रहेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके मात्रै कार्यक्रमको औचित्य रहे बताईन । ‘अग्रपंतीमा रहेको व्यक्तिले सिकाएर मात्रै हुदैन’ उनले भनीन ‘सहभागी सबैले सिकेका कुरालाई व्यवहारमा उतार्दै आ–आफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्दछ ।’

उनले अझै पनि गाउँसमाजमा अपांगता भएका व्यक्तिहरु भएपनि उनिहरुलाइ अपांगता परिचयपत्र पाईने ठाउँ समेत थाहा नभएको बताईन । यस्ता कार्यक्रममा सहभागीता जनाउने व्यक्तिहरुले अपांगता सम्बन्धी सामान्य कुरा समेत जानकारी नभएका व्यक्तिहरुलाई सिकाउन जरुरी रहेको उनले बताईन ।
‘अझै पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिहरु परिचयपत्र विहिन छन, उनिहरुलाई त्यो परिचय पत्र सम्बन्धी जानकारी समेत छैन’ उनले भनीन ‘हामी विभिन्न तालीम तथा कार्यक्रममा सहभागीता जनाईसकेका मानिसहरुले त्यस्ता व्यक्तिहरुलाई अपांगता भएका व्यक्तिहरुको हक अधिकार तथा उनिहरुप्रति राज्यको दायित्वका सम्बन्धमा जानकारी दिन जरुरी छ ।’
उनले नगरपालिकाले अपांगता परिचय पत्र वितरणको कार्य गरिरहेको बताईन । उनले कार्यक्रम सफल रुपमा सम्पन्न हुने विश्वास लिएको बताईन ।
कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष नरेश अधिकारीले अपांगता भएका व्यक्तिलाई माया र सद्भावको आवश्यकता रहेको बताए । उनले आफु निर्वाचित भएर आएको सुरुवाती वर्षमा आफुलाई जानकारी नभए पनि पछिल्लो केही वर्ष देखी आफुले अपांगता भएका व्यक्तिहरुका लागी वडाबाट विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । अपांगता भएका व्यक्तिलाई हेलाको दृष्ट्रिकोणले हेर्न नहुने उनले बताए ।
कार्यक्रममा १० जना अपांगता भएका व्यक्ति र १० जना सरोकारवाला गरी २० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको प्रशिक्षकका रुपमा मान बहादुर साउँद रहेका थिए ।


















