अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आयोजक (बि) ले हात पारेको छ । बिहिबार भएको फाईनल खेलमा आदर्श युवा क्लब खमौरालाई २–० ले पराजित गर्दै आयोजक (बि) ले उपाधी उचाल्न सफल भएको हो ।
आयोजक गौरीशंकर टोल सुधार संस्थाकै खेलमैदानमा सञ्चालित फाईनल खेल निकै रोमाञ्चक बनेको थियो । खेलको सुरुवाती चरणबाटै विपक्षिलाई दवाव दिईरहेको आयोजक टिमले पहिलो हाफमा नै गोल गर्न सफल बन्यो ।

पहिलो हाफमा आयोजकका खेलाडी विकास पुनले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले १३ औ मिनेटमा गोल गर्न सफल भएका थिए । त्यसपश्चात आर्दश युवा क्लबका खेलाडीहरुले आयोजकर्लाइ गोल गर्ने मौका दिएनन् । १–० को अग्रताका साथ दोस्रो हाफमा मैदानमा उत्रिएको आयोजक टिमले फेरी दोस्रो हाफको ५२ औ मिनेटमा अर्काे गोल गर्दै जित सुनिश्चित गरेको हो ।

दोस्रो हाफमा आयोजकका खेलाडी योगेन्द्र खड्काले गोल गरेका थिए । गोल गर्ने मौका पाउदा पनि गोल गर्न नसक्दा आदर्श युवा क्लब खमौराले उपविजेतामा चित्त बुझाउनु परेको हो ।
विजेता बनेसँगै आयोजकले नगद रु. ५० हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको आदर्श युवा क्लब खमौराले नगद रु. २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगीता अवधीभर सबैभन्दा बढी गोल गरेका आयोजक टिमका खेलाडी योगेन्द्र खड्का सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगीता अवधीभर कुल ६ गोल गरेका थिए ।
यसैगरी प्रतियोगीताको उत्कृष्ट खेलाडी आदर्श युवा क्लबका भरत टमटा, उत्कृष्ट रक्षक आयोजकका खेलाडी गोकर्ण भट्टराई, उत्कृष्ट गोलरक्षक आयोजककै नविन छत्याल, उदयीमान खेलाडी आयोजककै आयुष भण्डारी र उत्कृष्ट मिडफिल्डर आयोजककै रवि विष्ट घोषित भए । उनीहरु सबैले नगद रु. २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता सम्पुर्णलाई समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ । आयोजक गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदम राज ओझाको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व राष्ट्रिय सभा सत्तापक्षका नेता हिरादत्त भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज भट्टले गरेका थिए । दशै तिहारलाई लक्षित गरी ‘खेलकुदको विकाशले नै उन्नत समाज र देशको विकास गर्न सकिन्छ’ भन्ने मुल नाराका साथ संस्थाले प्रतियोगीताको आयोजना गरेको थियो । यही कार्तिक ५ गतेदेखि सञ्चालित उक्त प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता रहेको थियो ।


















