अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ पवित्र वस्तीमा रहेको पवित्र आधारभुत विद्यालयका नवनिर्मित २ वटा भवनको उद्घाटन गरिएको छ ।
विल्ड अन नेपाल नामक संस्था एवम् कृष्णपुर नगरपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७५/०७६ र २०७७/०७८ मा निर्मित ३/३ कोठे २ वटा भवनको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरे दमाईको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमाल रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको बताए । उनले नगरभित्र रहेका ३३ वटा सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्न र बालबालीकाहरुलाई दक्ष जनशक्तिका रुपमा विकाश गर्न नगरपालिका निरन्तर खटिईरहेको बताए ।
उनले देशका तिनै तहका सरकार एवम् संघसंस्थाहरुको सहयोगमा नगरभित्र रहेका सबै विद्यालयका भवन निर्माण देखी पुस्तकालय एवम् प्रयोगशाला निर्माणको कार्यलाई पनि अगाडी बढाएको बताए । उनले विद्यालयहरुमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, स्वच्छ शौचालयको व्यवस्थापन गर्ने, खेलकुद मैदान निर्माण गर्ने, खेल सामग्री तथा शैक्षिक सामग्रीहरुलाई व्यवस्थापन गर्ने लगायतका कार्य नगरपालिकाले गर्दै आएको बताए ।

उनले विल्ड अन नेपाल संस्थासँग साझेदारी गरी विगत देखी नै नगरपालिकाले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको बताए । ‘विल्ड अन नेपालसँगको साझेदारीमा नगरमा आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा विद्यालय भवनहरु निर्माण गरेका छौ, नगरपालिकाले उक्त अवधीमा ६ लाखका दरले आर्थिक सहयोग गरेको थियो’ उनले भने ‘आर्थिक वर्ष २०७७/०७८ मा ३ वटा ३ कोठे भुकम्प प्रतिरोधी भवन र २ वटा कोठा भएको शौचालय निर्माण गर्ने कार्य सम्पन्न गरेका छौ, जसमा कृष्णपुर नगरपालिकाले १० लाख आर्थिक सहयोग रहेको थियो ।’

उनले चालु आर्थिक वर्षमा पनि विल्ड अन नेपाल संस्थासँग समन्वय गरेर भौतिक पुर्वाधार अभाव भएका विद्यालयहरुमा भवन निर्माणको कार्य अगाडी बढाएको बताए । उनले नगरपालिकाले एक वडा एक नमुना विद्यालयको अवधारणा लिएको समेत बताए । शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तर्फ नगरपालिका अगाडी बढेको उनको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै बिल्ड अन नेपालकी निर्देशक निर्मला चौधरीले विद्यार्थिहरुलाई सहज रुपमा अध्यापन गर्ने वातावरण सृजना गर्न भौतिक पुर्वाधारको कमी भएका विद्यालयहरुमा भवन निर्माणको कार्य गर्दै आएको बताईन ।

उनले विद्यालय निर्माणका लागी आवश्यक पर्ने सामग्रीहरु विल्ड अन नेपालले प्रदान गर्ने बताईन । ‘विद्यालयको भवन निर्माणका लागी निर्माण उपभोक्ता समिति गठन गरिन्छ, जसले विद्यालयको निर्माण गर्छ’ उनले भनीन ‘बिल्ड अन नेपालले भवन निर्माणको लागी आर्थिक सहयोग गर्दैन, हामीले सहयोग गर्ने भनेको भवन निर्माणका क्रममा आवश्यक पर्ने सिमेन्ट, छड, कलर, ईट्टा लगायतका सामग्रीहरु हो, त्यसबाफत लाग्ने खर्च हामीले आफै बेहोर्छाै ।’
पवित्र आधारभुत विद्यालयमा निर्माण गरिएका दुई ओटै भवनहरुमा बिल्ड अन नेपालले प्रतिभवन करिब २५ लाखका दरले लगानी लगाएको उनले बताईन । उनले बिल्ड अन नेपालले निर्माण गर्ने भवनहरु विद्यार्थीहरुको सहजताका लागी फर्निचर सहितको बनाउने गरेको बताईन ।
कार्यक्रममा भवन निर्माणका लागी सहयोग पु-याउने व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका सदस्य चैतन्य प्रसाद जोशीले गरेका थिए ।

यसैबिच कृष्णपुर नगरपालिका वडा नं. ४ को बेलकुण्डी मुक्त कमैया बस्तीमा रहेको सृजना आधारभुत विद्यालयमा ३ कोठे भक्की भवन २ कोठे पक्कि शौचालयको शिलान्यास गरिएको छ ।
विल्ड अन नेपाल तथा कृष्णपुर नगरपालिकाको प्राविधिक एवम् आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको बुधबार नगरप्रमुख कर्ण बहादुर हमालले शिलान्यास गरेका हुन ।
१०६ दिन भित्र सक्ने गरी निर्माण उपभोक्ता समिति मार्फत उक्त भवन निर्माण हुने नगरप्रमुख हमालले बताए । करिब ४० लाख लाग्ने उक्त भवन निर्माणका लागी नगरपालिकाले ११ लाख रुपैया सहयोग गरेको समेत उनले बताए ।


















