धनगढी – अनलाइन बजार दराजले देशभर आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ । सन् २०१८ मा अलिबाबाको स्वामित्वमा आएपछि दराजले देशव्यापी सेवा विस्तार गर्ने योजना लिएको छ ।
कम्पनीले हालै ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा पुगेको जानकारी दिएको छ । साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउन स्थानीयस्तरमै डेलिभरी राइडर नियुक्त गर्ने कम्पनीले जनाएको छ ।


नेपालको विविध भौगोलिक कठिनाइका बाबजुद कम्पनीको सेवा वितरण प्रक्रिया निरन्तर जारी राख्न यस्तो कदम चालिएको दराजले जनाएको छ । हाल दराजका देशभर १५ वटा डेलिभरी हब छन । यी हबबाट नै ग्राहकका लागि वस्तु वितरण गरिन्छ ।
यसअन्तर्गत बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, भरतपुर, पोखरा, बुटवल, धनगढी, भक्तपुर सल्लाघारी रहेका छन् । त्यस्तै काठमाडौंका पुरानो बानेश्वर, बालाजु, गोपीकृष्ण, न्यू रोड, थसिखेल रसोल्टिमोडमा दराजका डेलिभरी हब छन् ।
‘२०१८ सालमा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद सञ्चालन (लजिस्टिक अपरेसन) धेरै आधारभूत थियो । ठूलो रुपमा कार्यभार उठाउनसक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी “दराज एक्सप्रेसको“ रूपमा आफ्नै समाधान निकाल्यो ।’

















