अत्तरिया – कैलालीको अत्तरियामा कोरियो भाईबा डान्स हब सञ्चालनमा आएको छ । डान्स क्षेत्रमा विगत ८ वर्षदेखी काम गर्दै आईरहेका स्थानिय लोकेश बोहराले उक्त डान्स हब सञ्चालनमा ल्याएका हुन ।
बिहिबार बोहराकी आमा कलुदेवी बोहरा र गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष एवम् भिप्लभ ईन्टरटेन्मेन्टका सञ्चालक विनोद मल्ल (भिप्लभ) ले संयुक्त रुपमा डान्स हबको उद्घाटन गरे ।

उद्घाटन पश्चात बोल्दै मल्लले अत्तरियाक्षेत्रमा कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले डान्स स्टुडियोहरु खुल्ने क्रम बढ्दै गईरहेको बताए । उनले स्थानिय युवाहरुले मिलेर यस क्षेत्रको कला संस्कृतिको रक्षा गर्न तथा कला संस्कृतिलाई पहिचान दिलाउन अग्रसर हुनु खुसीको कुरा भएको बताए ।
डान्सले मानिसलाई स्वस्थ राख्न समेत सहयोग गर्ने बताउदै उनले कोरोनाको यस्तो महामारीमा स्वस्थ रहन पनि डान्स आवश्यक भएको उनले बताए । उनले स्टुडियोको सफलताको शुभकामना व्यक्त गरे ।


यसैगरी डान्स हबका सञ्चालक लोकेश बोहराले डान्स क्षेत्रमा आउन चाहने व्यक्तिहरुलाई केही नयाँपन दिनका लागी स्टुडियो सञ्चालनमा ल्याएको बताए ।
उनले डान्स हबमा दक्ष तथा अनुभवी डान्स गुरुहरुले छुट्टाछुट्टै डान्स स्टाईलहरु सिकाउने बताए । ‘एकै गुरुले सबै किसिमको डान्स सिकाउन सक्दैन, सबैको आफ्नो आफ्नो स्टाईल हुन्छ’ उनले भने ‘हामी ३ जना डान्स गुरुहरु छौ, हामीहरु छुट्टाछुट्टै स्टाईलमा डान्स सिकाउने छौ ।’
उनले पपिङ्ग स्टाईलका लागी गोबिन्द बहादुर साउँद, हिपअप स्टाईलका लागी आफु स्वयम र कल्चरल स्टाइलका लागी सुनिल पन्त खटिने बताए ।
करिब १ लाखको लगानीमा सुरुवात गरेको डान्स हबमा डान्स सिक्न चाहने विद्यार्थीहरुलाई व्यवसायीक रुपमा अगाडी बढ्न सक्ने बनाउनका लागी पनि आफुहरु अग्रसर रहेको उनले बताए ।
यसैगरी डान्स हबमा दशै तिहारको अवसरमा निःशुल्क भर्ना गरिने उनले बताए ।


















