बैतडी – बैतडीमा कोरोनाका संक्रमित घट्दै गएका छन् । कुनै वेला १ हजार नजिक पुगेका सक्रिय संक्रमित हाल १७ जना मात्रै रहेका छन् ।
जिल्लाको शिवनाथ, दोगडाकेदार, डिलाशैनी गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सक्रिय संक्रमित शून्य रहेका छन् भने अन्य स्थानीय तहमा न्यून रहेका छन् ।


दशरथचन्द नगरपालिकामा ७, पाटन नगरपालिकामा ३, सुर्नया गाउँपालिकामा २, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीनजना भने जिल्ला बाहिरका छन् ।
बिनालक्षणका संक्रमित रहेकाले उनीहरू सबै होम आइसोलेशनमा बस्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
जिल्लामा सबै स्थानीय तहमा गरी हाल यहाँ २४१ आइसोलेशन बेड रहेका छन् । जिल्ला अस्पतालमा रहेका ८ वटा आइसीयू बेड र २ भेन्टिलेटर बेड खाली छन् । जिल्ला अस्पतालको आइसोलेशनमा भने चारजना संक्रमित रहेका छन् ।

















