अत्तरिया – कैलालीको अत्तरियामा कृषि कार्यका लागि समयमा बिउविजन तथा मल नपाईने तथा नियमीत अनुगमन नहुने गुनासो आएको छ । आईतबार अनौपचारी क्षेत्र सेवा केन्द्र (ईन्सेक) र मानव अधिकार समुह गोदावरीले आयोजना गरेको खाद्य अधिकार सम्बन्धी सरोकारवाला बिचको छलफल कार्यक्रमका सहभागीहरुले उक्त गुनासो गरेका हुन ।
कार्यक्रममा सहभागी वडा नम्बर ११ की लक्ष्मी सुनारले बजारमा मलको सधै अभाव हुने गरेको गुनासो गरीन । उनले कृषि कार्य गर्ने किसानहरुले आवश्यकता अनुसारको मल पाउन सधै सास्ती खेप्नुपरेको बताईन ।

सोही वडाका गणेश खड्काले किसानहरुलाई बिउविजनको पनि समस्या रहेको बताए । उनले मलको साथै किसानहरुले समयमै बिउविजन नपाउने गरेको गुनासो पोखे । यसका साथै उनले किसानलाई तालीमको व्यवस्था हुनुपर्ने पनि माग गरे ।
वडा नम्बर ८ का स्थानिय टेक बहादुर देउवाले बजारको नियमीत अनुगमन नहुँदा समस्या रहेको बताए । उनले चाडपर्व लक्षित अनुगमन प्रभावकारी नहुने बताए । चाडपर्वका समयमा मात्रै नभई बजारमा नियमित जसो विषादीयुक्त खानेकुराहरुको विक्रि वितरण भैरहेकाले सम्बन्धीत निकायले बजार अनुगमनलाई नियमितता दिनुपर्ने उनको माग छ ।

सहभागीहरुका गुनासापछि प्रतिक्रिया दिदै गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीले अन्य बजारको तुलनामा अत्तरियामा बिजविजन सहज रुपमा उपलब्ध रहेको बताए ।
उनले मलको समस्या राष्ट्रियस्तरको भएकाले एक्लै गोदावरी नगरपालिकाले मात्रै केही गर्न नसक्ने बताए । उनले केन्द्रबाट प्राप्त मल पनि नगरपालिकाले सहकारी संस्थाहरुलाई वितरण गर्ने गरेको र सहकारी मार्फत किसानलाई वितरण हुने गरेको बताए ।
उनले कृषि कार्य गर्ने किसानहरुले बजारको अभावका कारण बस्तुको मुल्य नपाईरहेको बताए । ‘भारतिय बजारसँग हाम्रो प्रतिष्पर्धा हुन्छ, यहाँ तरकारी उत्पादन हुने वित्तिकै भारतले मुल्य घटाएर पठाउछ, हामी उपभोक्ता पनि भारतीय तरकारी सस्तो हुने हुँदा सोही किन्छौ’ उनले भने ‘हामी आफ्नै स्थानियस्तरमा उत्पादनमा भएको तरकारी महंगो भन्दै खरिद गर्दैनौ तर भारतिय विषादीयुक्त तरकारी खरिद गर्छाै ।’
उनले किसानले उत्पादन गरेका तरकारीलाई केही समयसम्म सुरक्षित राख्ने कोल्ड स्टोर भए स्थानिय स्तरका किसानहरुले पनि उत्पादीत वस्तुको मुल्य पाउने बताए ।

यसैगरी नगरपालिकाकै कृषि शाखा प्रमुख बासुदेव भट्टराईले नगरमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा किसानहरुको सहभागीता भए कार्यक्रम प्रभावकारी हुने बताए । उनले खाद्य सँग किसान नै जोडिएकाले यस्ता कार्यक्रममा व्यवसायीक रुपमा कृषि कार्य गर्दै आएका किसानलाई समावेश गर्न जरुरी रहेको बताए ।
उनले सहभागीहरुले औल्याएको मलको समस्याको बारेमा बोल्दै कम्पोष्ट मलको प्रयोग गर्न आग्रह गरे । ‘मलको समस्या नगरको मात्रै हैन केन्द्र तहबाट नै हो, हामी मलको समस्या समाधान गर्छाै भन्न सकिन्न’ उनले भने ‘बजारमा रासायनिक मल नपाईएपनि आफैले कम्पोष्ट मल बनाएर प्रयोग गरे त्यसको उत्पादन बढाउनुका साथै विषादी रहित पनि हुन्छ ।’
उनले मलको समस्या समाधान गर्ने मुख्य उपाय नै कम्पोष्ट मलको प्रयोग भएको बताए । उनले किसानहरुलाई सहजताका लागी नगरपालिकाले स्रोतव्यक्तिको अवधारणा ल्याएको बताए ।
सबै किसानहरु नगरसम्म नपुग्न सक्ने भएकाले स्रोतव्यक्तिको अवधारणाले किसानहरुले वडास्तरबाटै सहज रुपमा कृषि सम्बन्धी जानकारीहरु लिन सक्ने उनले बताए । उनले यसका साथै नगरले गत वर्षको एक वडा एक उत्पादन अवधारणालाई पनि निरन्तरता दिएको बताए ।
उनले नगरले वडा नम्बर १ लाई च्याउ, वडा नम्बर २ लाई लसुन, वडा नम्बर ३ लाई तरकारी खेती, वडा नम्बर ४ लाई बेमौषमी तरकारी खेती, वडा नम्बर ५ लाई लहरे तरकारी खेती र वडा नम्बर ६ लाई आलु खेतीको लागी तोकेको बताए ।
यस्तै वडा नम्बर ७ लाई मकै, वडा नम्बर ८ लाई तोरी, वडा नम्बर ९ लाई गहुँ, वडा नम्बर १० लाई केरा, वडा नम्बर ११ लाई प्याज र वडा नम्बर १२ लाई कागती उत्पादनको लागी छनौट गरिएको उनले बताए । उनले किसानहरुलाई कृषि सम्बन्धी आवश्यक परामर्शका लागि नगरपालीकाको कृषि शाखामा आउन पनि अनुरोध गरे ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्टले बाहिरबाट आएको तरकारीमा विषादीको मात्रा बढी हुने हुँदा तरकारीमा विषादी चेक गरेर मात्रै प्रयोग गर्न अनुरोध गरे ।
उनले स्थानियस्तरमै उत्पादन भएका तरकारीमा पनि विषादीको प्रयोग भएको हुन सक्ने भएकाले यसतर्फ सजग रहन उपभोक्तालाई आग्रह गरे । ‘अहिले बढी उत्पादन गर्ने होडबाजीले तरकारीजन्य वस्तुमा विषादी प्रयोग गर्ने गरेको पाईएको छ’ उनले भने ‘हामीसँग विषादी चेकजाँच गर्ने स्थान भएपनि उक्त स्थानसम्म उत्पादीत वस्तुहरु पुगेको अवस्था छैन ।’
उनले किसानहरुलाई पनि उत्पादीत वस्तुलाई विषादी चेक गरेर विक्रिवितरण गर्न आग्रह गरे । यसका साथै उनले नगरपालिकाले प्रायजसो नियमीत रुपमा नै बजार अनुगमन गरिरहेको बताए ।
‘हामी प्राय नियमीत जसो नै बजार अनुगमन गरिरहेका हुन्छौ’ उनले भने ‘खाद्यको अनुगमनमा आउने खाद्य तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव भएका समस्या भैरहेको छ, त्यहाँका कर्मचारीले धेरै ठाउँमा अनुगमन गर्नुपर्ने भएकाले १५ दिन अथवा एक महिनाको अन्तरालमा अनुगमनको समय जुर्छ, त्यसै अनुसार सबैको सहभागीतमा हामी बजार अनुगमन गरिरहेका छौ ।’
मानव अधिकार समुह गोदावरीका संयोजक नरदिप सिँह धामीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष भट्ट रहेका थिए । कार्यक्रमको सञ्चालन ईन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले गरेका थिए ।


















