धनगढी – असोज ३ गते नेपालको संविधान जारी भएको दिन । २०७२ साल असोज ३ गते जनताले चुनेका जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संविधान सभाले ऐतिहासिक रुपमा नेपालको संविधान जारी गरेको दिन ।
संविधान जारी भएदेखि नै कालो दिवसको रुपमा मनाउदै आएको थरुहट/थारुवान संयुक्त संघर्ष मोर्चाले यस वर्ष पनि कालो दिवसको रुपमा मनाउदै आएका छन् ।

संविधान जारी भएदेखि केही धारा, उपधारा जलाउदै आएको संयुक्त संघर्ष समितिले नेपालको संविधान जारी भएको सातौं वर्षमा पनि सो दिनलाई कालो दिवसका रुपमा मनाउदै संविधानका केही धारा, उपधारा जलाउने गरेका छन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका अनुसार संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ प्रति विरोध रहेको जनाएको छ । यस पटक थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले कैलालीको जोशीपुरमा खबरदारी सभा आयोजना गरेको छ । कार्यक्रमसंगै संविधानको धारा २७४ र अनुसूची ४ जलाइएको मोर्चाका प्रवक्ता माधव थारुले बताए ।

मोर्चाका प्रवक्ता थारुले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ‘आज असोज ३ । शासकहरुले थारुहरुलाई काल कोठकरीमा राखेर संविधान जारी गरेको दिन । उत्पीडन बर्ग समुदाय, क्षेत्र, लिंग संवैधानिक अधिकार प्रति धावा बोलेको दिन । असोज कालो दिन ।’ प्रवक्ता थारुले लेखेका छन्, ‘सबैलाई समान अधिकार प्रदान गर सरकार । टिकापुर मुद्धा राजनीतिक रुपमा समाधार गर सरकार ।’
सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाल भनिन्, ‘हाम्रो निष्कर्षमा यो सफल संविधान होइन । यो अपुरो संविधान हो । यसमा संशोधन नगरिकन कार्यान्वयन गरियो भने सफल हुदैन ।’

उनले भनिन, ‘अहिलेको सरकारको गतिविधि हेर्दा यो विफल भएको छ । सरकार असफल भएको कारणले संविधान कार्यान्वयन हुन सकेको छैन । उहाँहरु संविधान दिवस भव्य तरिकाले मनाउँदै हुनुहुन्छ । हामी यो संविधान दिवस कालो दिन भनेर मनाइरहेका छौं ।’ उनले प्रदेशको सही सिमांकन नभएको र नागरिकताको सवाल बाँकी रहेको बताइन् ।
प्रदेशमा औपचारीक कार्यक्रम गरिएन
विगतमा तीन दिनसम्म धुमधामसहित संविधान दिवस विविध कार्यक्रमसहित मनाउदै आएको सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष भीडभाडका कुनै पनि कार्यक्रम आयोजना गरेको छैन । नेपालको संविधान जारी भएको सातौं वर्षको अवसरमा सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूको तुलनामा थोरै कार्यक्रम मात्रै तय गरिएका छन् ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको संविधान दिवस मूल आयोजक समितिले प्रदेशभरी भीडभाड हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ । विगतमा प्रदेश सरकारले तीन दिनसम्म सरसफाई, रक्तदान, फलफूल, प्रभातफेरि, प्रवचन लगायतका कार्यक्रम आयोजना गर्दै आएको थियो ।
संविधान दिवसको मुल दिन असोज ३ गते प्रदेशका ९ वटै जिल्लामा बाजागाजासहित प्रभातफेरी निकाल्ने गरिएको थियो । त्यस्तै, दिवसको तेस्रो दिन विभिन्न खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरी मनाइने गरिन्थ्यो ।
यस वर्षभने संविधान दिवस मूल आयोजक समितिले कोरोना महामारीलाई कारण देखाउँदै विषयगत मन्त्रालय तथा मातहातका कार्यालयमा व्यानर टाँग्ने र राती दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन ।
शनिबारदेखि सोमबारसम्म प्रदेश सरकारका मन्त्रालय तथा विषयगत कार्यालयको मुलद्वारमा सातौ संविधान दिवसको नाराअंकित ब्यानर टाँगिएका छन् । यस्तै, सबै मन्त्रालय तथा मातहतका कार्यालयहरूमा राती दीप प्रज्ज्वलन गरिने छ ।
मन्त्री जोशीले दिवसका अवसरमा रेडियो संवाद, प्रचार–प्रसार लगायतका कार्यक्रम गरिने बताइन । उनले भनिन, ‘संघीय सरकारबाटै भीडभाड हुने गरि कुनै पनि कार्यक्रम आयोजना नगर्न भनिएको छ । त्यसैले हामीले कुनै पनि त्यस्ता कार्यक्रम तय गरेका छैनौ ।’















