अत्तरिया – नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु) ले कसैको आदेशको भरमा चयन गरेको संगठनले गती लिन नसक्ने बताएका छन ।
मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको सहकार्यमा गोदावरी नगरकमिटिले आयोजना गरेको १४औ अधिवेशन लक्षित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

उनले संगठनलाई बलियो बनाउन बुढापाका र युवाहरुको समिश्रण बराबरी हुनुपर्ने बताए । ‘कसैको आदेशको भरमा, कसैको कृपाको भरमा संगठन चयन गरे त्यसले गती लिन सक्दैन’ उनले भने ‘त्यसैले अहिलेको संगठनमा कम्तिमा पनि ५० प्रतिशत युवाहरुलाई पनि स्थान दिनुपर्छ ।’ पुराना मान्छेको अनुभव र नयाँ युवाको जोसले संगठनलाई द्रुत गती दिने उनको भनाई छ ।
यो अधिवेशनमा मेलमिलापका साथ अगाडी बढे आउदै गरेका तिनै तहका निर्वाचनलाई पनि अवसरका रुपमा लिन सकिने उनले बताए । उनले जिल्लामा भएका अन्र्तक्रिया कार्यक्रमहरु जिल्ला कार्यसमितिको निर्णय अनुसार नै भएका बताए । ‘जिल्लामा भएका कार्यक्रमहरु मनुको एकल निर्णयबाट भएका हैनन’ उनले भने ‘जिल्ला कार्यसमितिका सबै पदाधिकारीहरुको सर्वसम्मत सहमतीबाट भएको निर्णय अनुसार उक्त कार्यक्रमहरु भएका हुन ।’
उनले कसैलाई उचाल्न र कसैलाई पछार्न नभई सबैलाई एकैठाउँमा ल्याउन कार्यक्रम आयोजना गरिएको बताए ।

१४ औ महाधिवेशनमा जिल्ला अधिवेशन देखी वडा अधिवेशनलाई कसरी भव्य र सभ्य रुपमा सम्पन्न गर्ने भन्ने विषयमा कार्यक्रम आयोजना भएको बताउदै उनले एकता र मेलमिलापको भावना जिल्ला भरी नै फैलाउन यस्ता कार्यक्रमहरु हुनुपर्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरसभापति हेमप्रकाश उप्रेतीले गुटको नभई पार्टीको राजनिति गर्न अनुरोध गरे । उनले काग्रेसको राजनिति गर्नका लागि कुनै गुटमा नभई सबैले ४ ताराको झण्डामुनी आएर पार्टीलाई एक बनाएर लैजानुपर्ने बताए ।
‘पछिका दिनहरुमा कांग्रेसको राजनिति गर्नुछ भने सबैले ४ ताराको झण्डामुनि आउनुपर्छ’ उनले भने ‘यहाँ गुटको राजनिति चल्ने वाला छैन, यहा कांग्रेसको राजनिति चल्छ ।’
उनले आफ्नो प्रयास मेलमिलाप नै भएपनि हालसम्म त्यो पुरा हुन नसकेको बताए । नगरसभापति उप्रेतीको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्यसमिति सभापति नरनारायण शाह (मनु) रहेका थिए ।
कार्यक्रममा पुर्वकेन्द्रिय सदस्य सुनिल भण्डारी, पुर्वसत्तापक्षका नेता हिरादत्त भट्ट, जिल्ला उपसभापति प्रकाश बम लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गोदावरी नगरसहसभापति झंकर सिँह खड्काले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नगरसचिव तेज खड्काले गरेका थिए ।


















