अत्तरिया – कैलालीको अत्तरियामा सहकारी प्रशिक्षक तयार गर्न आयोजित ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको छ ।
गोदावरी नगरपालिकामा रहेका ५ वटा महिला विकाश बहुउद्देश्यिय सहकारीहरुले संयुक्त रुपमा आयोजना गरेको तालीमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको विश्वज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी अध्यक्ष तुलसी देवकोटाको सभापतित्वमा आयोजित समापन कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।
कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले महिलाहरुको हकहितका लागी महिला सहकारीहरु एकवद्ध रुपमा लागीपरेका बताईन । उनले महिलाहरुलाई विभिन्न क्षेत्रमा अग्रसर बनाउन र विभिन्न किसीमका सिप तथा क्षमताहरु अभिवृद्धि गर्न महिला सहकारीहरुले भुमिका खेलेको बताईन ।

सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिन प्रशिक्षक तयार गर्नका लागी तालीमको आयोजना गरिएको विश्व ज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी अध्यक्ष तुलसी देवकोटाले जानकारी दिईन ।
‘सहकारीमा धेरै महिला सदस्यहरु आवद्ध छन, उनिहरुलाई सहकारी के हो, सहकारीको कामकारबाही के हो तथा सहकारीबाट के फाईदा छ भन्ने कुरा मात्र नभई बचत, ऋण, शेयर लगायतका विषयमा पनि जानकारी छैन’ उनले भनीन ‘त्यसैले सहकारीमा आवद्ध सदस्यहरुलाई त्यस्ता विषयको जानकारीका साथै सहकारी शिक्षा, तालीम, नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने प्रशिक्षक तयार गर्न तालीमको आयोजना गरेका हौ ।’ उनले सहकारीका ७ सिद्धान्तको बारेमा सदस्यहरुले अनिवार्य जानकारी पाउन भन्ने आफुहरुको लक्ष्य रहेको बताईन ।
यही भदौ १७ गतेदेखी सुरु भएको तालीम गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको विश्वज्योती महिला विकाश, वडा नं. २ मा रहेको जिवनज्योती महिला विकाश, वडा नं. ८ मा रहेको सृजनशिल महिला विकाश, वडा नं. १२ मा रहेको प्रगती महिला विकाश र वडा नं. ९ मा रहेको सफलता महिला विकाश बहुउद्देश्यिय सहकारी संस्थाहरुले आयोजना गरेका हुन ।
तालीममा प्रत्येक सहकारीका ५/५ जना र एक जना स्वस्फुर्त गरी २६ जना प्रशिक्षार्थीहरु रहेका थिए । तालीमको प्रशिक्षकका रुपमा सिर्जना केसी रहेकी थिईन ।
जिवन ज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सुमित्रा सोपले स्वागत मन्तव्य व्यक्त गरेको तालीमको समापन कार्यक्रमको सञ्चालन सफलता महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी सचिव झरना भाट भट्टराईले गरेकी थिईन ।


















