धनगढी – कैलालीको पूर्वपश्चिम राजमार्ग संगै रहेको बर्दगोरीया गाउँपालिकामा प्रशस्त मात्रा चुन खानी रहेको स्थानीयको दाबी छ ।
स्थानीयहरुका अनुसार गाउँपालिकाको वडा नम्बर २ छोट्की पिरुवा क्षेत्र र बर्दगोरीया धामको खोचमा प्रशस्त मात्रामा चुन खानी रहेको छ ।
तत्कालीन दोदोधारा गाउँ विकास समितिका प्रधानपञ्च समेत रहेका स्थानीय उपेन्द्र बमले बि.स. २०४१ साल देखी लगातार ३ वर्ष सो क्षेत्रबाट चुन खानी उत्खनन तथा प्रशोधन गरिएको बताए ।

‘त्यो बेला स्थानीय भक्तबहादुर बमले छोट्की पिरुवामा भट्टा लगाएर चुन खानी उत्खनन तथा प्रशोधन गरेका थिए’ उपेन्द्रले भने, ‘प्रविधिको अभाव र बजारको प्रतिस्पर्धा कारण धेरै समय भट्टा चल्न सकेन् ।’

सरकारले यो विषयलाई गम्भीरता पूर्वक लिई सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै चुन प्रशोधन गर्नसके पालिकाको प्रमुख आयस्रोत बन्ने बलियो सम्भावना रहेको उनको भनाई छ ।
तर, बर्दगोरीया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले भने सो विषयमा आफू जानकार नभएको बताए । ‘हाम्रो पालिकामा चुन खानी छ र ?’ अध्यक्ष डगौरा थारुले भने, ‘मलाई त अहिलेसम्म कसैले भनेन । तपाई बाट थाहा पाउँदै छु ।’ उनले चुन खानीको बारेमा थाहा पाएको भए पहिले नै सरोकारवालासंग छलफल गरेर प्रशोधनको प्रकृया अगाडि बढाइसक्ने बताए ।
सोही वडाका अध्यक्ष भेखु चौधरीले चुन खानीबारे हल्ला सुनेको भए पनि सो बिषयमा प्रस्ट भने नभएको बताए ।
स्थानिय उपेन्द्र बमले चुन खानीबारे अध्ययन गरेर उत्खनन गर्नसके गाउँपालिकाको आयश्रोत बृद्धि हुनाको साथै स्थानीयले रोजगारी समेत पाउन सक्ने बताए ।
गहिरो अध्ययन तथा प्रशोधन गरी पर्याप्त मात्रामा गाउँ सरकारको आयस्रोत बढाउन सकिने अवस्था छ भएपनि जनप्रतिनीधि नै बेखर हुनु दुःखद कुरा भएको बमको भनाई छ ।














