खाेज्नुहाेस

भाडा असुल्छन् साहु, राजस्व असुल्छन् प्रहरी, जोखिम मोल्छन् यात्रु

Image

अत्तरिया – फलामका पाता जोडेर बनाइएको सिटमा बसेकी ममता भट्ट (नाम परिवर्तित) घर घरी भँुइमा बजारिरहेकी थिइन । बस ड्राइभरको पछाडि यातायात कार्यालयले अनुमति नदिएका फलामका पाता जोडेर बनाइएका सिटमा बसेकी उनलाई गाडीमा सिट उपलब्ध रहेको भनेर बसको ढोकाबाट भित्र पठाइएको थियो ।

शुक्रवार बिहान बैतडीबाट महेन्द्रनगरको आउँदै गरेको सुप प्र ०२००१ ख १२१४ नम्बरको बसमा यात्रा गरिरहेकी उनी सँगै यसरी नै ड्राइभर क्याबिनमा फलामका पाता जोडिएर बनाइएका सिटमा ९ जनाले यात्रा गरिरहेका थिए । सघुरो ठाउँमा यात्रुहरू कोचाकोच हुँदा ममताले सास फेर्न समेत गाह्रो भएको भनेर चिच्याउँदै थिइन् । ‘सिट छ भनेर गाडीमा चढ्न भने । यहाँ यस्तो सिट रहेछ’ उनले भनिन् ‘कुनै गाडी खालि छैनन् । यात्रा गर्नुपर्ने बाध्यता छ ।’ गाडीको ग्यालरीको भागमा भने झन् दयनीय अवस्था थियो । सिट बाहेक यात्रु हिँडडुल गर्ने ठाउँमा मात्रै १९ जना यात्रु उभिएर यात्रा गरिरहेका थिए ।

attariya hospital

सोही बसमा यात्रा गरिरहेका पञ्चेश्वरका मदन चन्दले आफूहरूलाई सिट छ भन्दै झुक्काएर गाडीमा बसाएर अलपत्र पार्ने काम गरिएको बताए । उनले गाडीमा बसेपछि केही अगाडी देखि खाली हुने भन्दै झुक्काएर झन् यात्रु भर्ने काम गरिएको बताए । ‘आधा बाटोमा पुगेपछि विकल्प पनि छैन । ट्राफिक प्रहरीले पनि यसरी यात्रु ओसार्नेबाट एक दुई हजार राजश्व लिएर छोड्ने गरेको छ’ उनले भने ‘ओभर लोड गाडी केही भए जिम्मेवारी को ले लिने ?’

बैतडीको पाटन नगरपालिका – ६ स्थित गणमेश्वरबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायातको उक्त बसमा मुख्य सडक बैतडीको देहिमाण्डु पुग्नु अघि नै क्षमताभन्दा दोब्बर यात्रु भरिसकिएको थियो । प्रशासनको उपस्थिति नै नभएको ग्रामीण सडकमा क्षमताभन्दा दोब्बर यात्रु ओसारिरहेको बस मुख्य सडकमा पुगेपछि भने बैतडीकै सतवाज चौराहामा पहिलो पटक ट्राफिक चेकिङमा पर्छ । तर, ट्राफिक चेकिङमा परेपछि भने राज्य र गाडी साहुको रमिता सुरु हुन्छ ।

ट्राफिक प्रहरी झोक्किएर आउँछन् । क्षमताभन्दा बढी यात्रु बोकेको भन्दै चिट काट्छन् । यात्रु बढी बसाइएको भन्दै केही यात्रु झार्छन् । त्यसपछि आफ्ना सामान बसमै छाडेर झारेका यात्रुलाई साहुले अलि अघि सम्म हिँड्न भन्छन् । र, पर पुगेपछि फेरी बसाएर पुनः यात्रु अघि बढ्छ ।

त्यसपछि पनि उक्त बसलाई १५ किलोमिटर अगाडी पाटनमा पनि ट्राफिकले रोक्छ । त्यहाँ भने ट्राफिकले आफ्नो नित्यकर्म दोह¥याउछ । त्यसपछि खोड्पेमा प्रहरीलाई टायर फेर्नु छ अलि अघि साइडमा रोक्छु भन्दै झुक्काएर हुइकिन्छन । अर्को चेकिङ हुने ठाउँ डडेल्धुराको स्याउलेमा पहिलै ट्राफिक प्रहरीले क्षमता भन्दा बढी यात्रु भएको आफूले सूचना पाएको कुरा गाडी साहुलाई दिन्छन् । चेकिङ नगरी यात्रु ओराल्न भनिन्छ । त्यसपछि मोबाइलमा भिडियो बनाउँदै आएका ट्राफिक प्रहरीले गाडी चेक गर्छन् र गाडी साहु दङ्ग पर्दै अघि बढ्छन् ।

पहाडी जिल्लामा जात्राको लागि गएका यात्रुको अत्यधिक चाप भएको मौका छोपेर सार्वजनिक सवारी साधनहरूले क्षमताभन्दा दोब्बर यात्रु ओसार्दा पनि ट्राफिक प्रहरी भने राजश्व असुल्दै दुर्घटनाको जोखिमलाई बढवा दिइरहेको छ । ट्राफिक प्रहरी नभएको ग्रामीण सडकमा यस्ता बेथिति सामान्य जस्तै बनिरहेका भए पनि ट्राफिक प्रहरीको उपस्थिति भएकै क्षेत्रमा पनि ट्राफिक प्रहरीको चरम लापरबाहीका कारण यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।