धनगढी – डोटीमा छोराले नै बुवाको हत्या गरेका छन् । बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा (डोलागडा) बस्ने ५० वर्षीय रणबहादुर चन्दको उनकै छोरा २३ वर्षीय छोरा विकासबहादुर चन्दले हत्या गरेका हुन ।
उनले शुक्रबार घरायसी विवादका क्रममा बुवाको टाउकोमा दाउराले प्रहार गरेका थिए । दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















