बैतडी– लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले टिकटक तथा फेसबुक रिल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई लक्षित गर्दै नगरपालिकाले सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य, न्यायको सुनिश्चितता’ भन्ने नारासहित बुधबारदेखि सुरु भएको अभियानका क्रममा प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।


प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले मंसिर ९ गतेदेखि २४ गतेसम्म नगरपालिकाले उपलब्ध गराएको इमेल ठेगानामा आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियो लैङ्गिक हिंसा न्यूनीकरण, हिंसाविरुद्धको सचेतना र सकारात्मक सामाजिक सन्देश दिने खालको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार प्रतियोगिताका लागि तयार गरिने भिडियो पूर्ण मौलिक, आफ्नै भाषामा निर्मित तथा सभ्य भाषा र शैलीमा हुनुपर्नेछ । भिडियोको अवधि कम्तीमा १५ सेकेन्डभन्दा बढी हुनुपर्ने र एक व्यक्तिले एकभन्दा बढी भिडियोसमेत पठाउन सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । तर छनोट प्रक्रियामा भने एक व्यक्तिको एउटा मात्र भिडियो समावेश गरिने बताईएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारसहित सम्मान गरिने नगरपालिकाले जनाएको छ । जसअनुसार प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियोमा प्रस्तुत गरिएको सन्देशको प्रभावकारितासँगै सामाजिक सञ्जालमा प्राप्त लाइक, भ्युज, कमेन्ट र शेयरलाई समेत मूल्याङ्कनको आधार बनाइने नगरपालिकाले जनाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लैङ्गिक हिंसाविरुद्धको अभियानसँग जोड्दै युवासहित आम नागरिकलाई सचेतना फैलाउने गतिविधिमा सहभागी गराउने नगरपालिकाको उद्देश्य रहेको छ ।
















