बैतडी– दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बैतडीका १७ जना खेलाडी छनोट भएका छन् । विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।
कात्तिक २८ देखि मंसिर १ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा बैतडीका खेलाडीले भलिबल, एथलेटिक्स, क्रिकेट र बास्केटबल विधामा सफलता हासिल गरेका जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।


छनोट भएका खेलाडीमध्ये महिला भलिबलमा पुर्चौंडीकी नम्रता बोहरा रहेकी छन् । एथलेटिक्सतर्फ १५ सय मिटर दौडमा पुर्चौंडीकी अस्मिता धानुक, एक हजार मिटर दौडमा सिगासकी मञ्जु धामी, त्रिपल जम्पमा दशरथचन्दकी पुनम जोशी, हाइजम्पमा दोगडाकेदारकी सुनिता पार्की र ८ सय मिटर दौडमा दशरथचन्दकी कमला जोशी छनोट भएकी छन् ।
महिला क्रिकेट टोलीमा दशरथचन्द नगरपालिकाका रितु कनौजिया, अञ्जु पार्की, रविना बोहरा, करिष्मा थापा र ममता बोहराले स्थान बनाएका छन् । पुरुष क्रिकेटतर्फ खडक बोहरा, आयुष चन्द, लोकेन्द्र चन्द र प्रदीप चन्द छनोट भएका छन् । उनीहरू सबै दशरथचन्द नगरपालिकाका हुन् । त्यस्तै, बास्केटबलमा सिगासका सुनील धामी र पाटनका रोशन भट्टराई छनोट भएका छन् ।
जिल्लामा पर्याप्त खेल प्रशिक्षण र प्रशिक्षकको व्यवस्था नहुँदा पनि खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सफल भएको अध्यक्ष चन्दले बताए । उनका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगितामा बैतडीले पहिलोपटक तेस्रो स्थान हासिल गरेको हो ।
राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीले दशौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन् । सीमित स्रोतसाधन र प्रशिक्षणको चुनौतीबीच बैतडीका खेलाडीले प्राप्त गरेको यो सफलता जिल्लाको खेलकुद विकासका लागि उत्साहजनक मानिएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगलबार (आज) देखि कर्णाली प्रदेशमा शुरु भएको छ ।

















