धनगढी – बझाङको केदारस्युँ गाउँपालिका–२ की ४२ वर्षीया गीता विष्ट ११ महिने छोराको उपचार गराउन धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर पुगिन् । तर अस्पताल पुग्दा उनले छोराको उपचारसँगै आफ्नो वर्षौंदेखिको समस्या पनि समाधान हुने अवसर पाइन् । अस्पतालले आमा–छोरा दुवैको जन्मजात ओठ फाटेको समस्याको निःशुल्क उपचार गरेको छ ।
गीता जन्मिँदै ओठ फाटेको समस्याबाट प्रभावित थिइन् । बाल्यकालदेखि नै आफ्नो शारीरिक अवस्थाका कारण उनी अरूको अगाडि खुलेर बोल्न र घुलमिल हुन संकोच मान्थिन् । समय बित्दै जाँदा उनले त्यही अवस्थासँगै जीवन बिताउन सिकिन् । विवाहपछि पाँच छोरीकी आमा बनेकी उनको परिवारमा छैटौँ सन्तानका रूपमा ११ महिनाअघि छोराको जन्म भयो ।
तर छोरामा पनि आफूलाई जस्तै जन्मजात ओठ फाटेको समस्या देखिएपछि उनको खुसी चिन्तामा बदलियो । आफूले वर्षौंदेखि भोग्दै आएको समस्या छोराले पनि भोग्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थाल्यो ।

छोराको जन्म बझाङकै देउरा स्वास्थ्य चौकीमा भएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले उपचार सम्भव हुने भन्दै डडेल्धुरा लैजान सुझाव दिएका थिए । तर डडेल्धुरामा उपचार सम्भव नहुने जानकारी पाएपछि परिवार अन्योलमा परेको थियो । यसैबीच गाउँकै स्वास्थ्यकर्मी अमर विष्टले धनगढीस्थित निसर्ग अस्पतालमा ओठ फाटेको समस्याको उपचार हुने जानकारी दिएपछि गीताका आफन्तले उनलाई छोरा अनिससहित धनगढी ल्याए । छोराको उपचार गराउने आशा बोकेर अस्पताल पुगेकी गीताले आफ्नो पनि उपचार सम्भव रहेको थाहा पाएपछि थप खुसी भइन् । त्यसपछि अस्पतालले आमा–छोरा दुवैको निःशुल्क उपचार गरेको हो ।

‘मैले त आफ्नो समस्यासँगै बाँच्न सिकिसकेकी थिएँ । अरूको अगाडि जान र बोल्न पनि लाज लाग्थ्यो । म त छोराको मात्रै उपचार होस् भन्ने सोचेर आएकी थिएँ । आफ्नो पनि उपचार हुन्छ भन्ने सोचेकी थिइनँ,’ गीताले भनिन्, ‘आज दुवैको उपचार भयो । घर फर्किंदै छु । उपचारमा एक रुपैयाँ पनि खर्च लागेन ।’
निसर्गमा निःशुल्क उपचार सेवा
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले गैरनाफामूलक संस्था स्माइल ट्रेनसँगको सहकार्यमा जन्मजात ओठ तथा तालु फाटेका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।
अस्पतालका अनुसार यस सेवाअन्तर्गत शल्यक्रिया, अस्पताल भर्ना, औषधि तथा आवश्यक परीक्षणको खर्च निःशुल्क उपलब्ध गराइन्छ । साथै बिरामी र कुरुवाका लागि यातायात, खाना तथा बसोबासको व्यवस्थासमेत गरिएको छ ।
सुदूरपश्चिममै पहिलोपटक सुरु गरिएको यस सेवाबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकाले सहज रूपमा उपचार पाउने अस्पतालले जनाएको छ ।



















