धनगढी– कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सव २०८३ आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने महोत्सवमा पाँच लाख दर्शक भित्र्याउने र १५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सव सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिसहित विभिन्न क्षेत्रका करिब ४२५ स्टल रहनेछन् ।


यस वर्षको महोत्सवमा व्यापारिक गतिविधिसँगै स्थानीय कृषि उत्पादन, नवीनतम कृषि प्रविधि र स्वदेशी उत्पादनको प्रदर्शनीलाई प्राथमिकता दिइनेछ । स्थानीय कृषक तथा उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म पु¥याउन र बजार विस्तार गर्न महोत्सवले सहयोग गर्ने आयोजकको अपेक्षा छ ।
दर्शक आकर्षित गर्न ‘अम्ब्रेला स्ट्रिट’ लगायतका संरचना निर्माण गरिनेछ । साथै स्थानीय तथा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति, सुदूरपश्चिमका लोकगीत, लोकनृत्य र मौलिक संस्कृतिलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ । भारतलगायत विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत सहभागी गराउने तयारी गरिएको छ ।
अध्यक्ष ओझाले महोत्सवलाई व्यापारिक कारोबारमा सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता, रोजगारी सिर्जना र लगानी प्रवद्र्धनको माध्यम बनाउने उद्देश्य रहेको बताए । विगतका महोत्सवबाट प्रेरित भएर केही युवाले आफ्नै व्यवसाय सुरु गरेको उल्लेख गर्दै उनले यसपटक पनि नयाँ उद्यमी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सव व्यवस्थापनका लागि मूल आयोजक समितिसहित २४ वटा उपसमिति गठन गरिएको छ । सुरक्षा र भीड व्यवस्थापनका लागि निजी तथा सरकारी सुरक्षाकर्मी परिचालन गर्नुका साथै सीसीटीभीमार्फत निगरानी गरिनेछ । सम्भावित मौसमजन्य जोखिम तथा विपद् व्यवस्थापनका लागि पनि आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ ।




















