खाेज्नुहाेस

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिम छनौटमा ब्याडमिन्टनतर्फ कैलाली–कञ्चनपुर हाबी

Image

अत्तरिया– दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट ब्याडमिन्टनतर्फ १२ खेलाडी छनोट भएका छन् । प्रदेशका नौवटै जिल्लाका खेलाडीबीच भएको प्रतिस्पर्धामा कैलाली र कञ्चनपुरका खेलाडीले वर्चस्व कायम गर्दै सबै १२ स्थानमा कब्जा जमाएका हुन् ।

जिल्लास्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरीय छनोटमा पुगेका खेलाडीबीच भएको प्रतिस्पर्धाबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । छनोट भएका खेलाडीमध्ये पुरुषतर्फ कञ्चनपुर र महिलातर्फ कैलालीका खेलाडीको दबदबा देखिएको छ ।

attariya hospital

पुरुषतर्फ यसपटक कञ्चनपुरले बाजी मारेको छ । विगतका छनोट प्रतियोगितामा सुदूरपश्चिमबाट कैलालीका खेलाडीले प्रथम स्थान हासिल गर्दै आएकोमा यसपटक भने कञ्चनपुरका खेलाडीले पहिलो र दोस्रो दुवै स्थान हात पारेका छन् । पुरुषतर्फ प्रथम र दोस्रो स्थानका लागि कञ्चनपुरकै आयुसमान नागरी र विवेक चौधरीबीच प्रतिस्पर्धा भएको थियो ।

फाइनल प्रतिस्पर्धामा विवेकलाई पराजित गर्दै आयुसमानले प्रथम स्थान हासिल गरे । विवेक दोस्रो स्थानमा सीमित भए । त्यसैगरी कैलालीका रोशन साउँदले तेस्रो र शिशिर रानाले चौथो स्थान हासिल गरे । कैलालीकै रियान्स चौधरी पाँचौँ, चन्द्रीका कठरिया छैटौँ र आदित्य चौधरी सातौँ स्थानमा रहँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।

navjiwan hospital

महिलातर्फ भने कैलालीको एकल वर्चस्व देखिएको छ । छनोट भएका पाँचमध्ये चार स्थान कैलालीका खेलाडीले ओगटेका छन् भने बाँकी एक स्थान कञ्चनपुरले सुरक्षित गरेको छ । महिलातर्फ कैलालीकी एलिना सुनार प्रथम, चाहाना चौधरी दोस्रो, रन्जु राना तेस्रो र खुसी बोहरा चौथो स्थानमा रहँदै छनोट भएका छन् । कञ्चनपुरकी एन्जिला भण्डारी पाँचौँ स्थान हासिल गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सफल भएकी छन् ।

यससँगै ब्याडमिन्टनतर्फ छनोट भएका १२ खेलाडीमध्ये नौ जना कैलाली र तीन जना कञ्चनपुरका रहेका छन् । पुरुषतर्फ अग्रस्थानमा कञ्चनपुर रहदा महिलातर्फ कैलालीले बाजी मारेको छ । ब्याडमिन्टनमा कैलाली र कञ्चनपुरको वर्चस्वले प्रदेशस्तरीय प्रतिस्पर्धामा यी दुई जिल्लाको बलियो उपस्थिति देखाएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा ब्याडमिन्टनतर्फ प्रदेशका नौ जिल्लाबाट पुरुषतर्फ ४१ र महिलातर्फ २१ गरी कुल ६२ खेलाडीले सहभागिता जनाएको कैलाली जिल्ला ब्याडमिन्टन संघका सदस्य प्रकाश सिँहले जानकारी दिए । उनका अनुसार छनोटमा प्रदेशका सबै जिल्लाबाट खेलाडी सहभागी भए पनि अन्तिम छनोटमा कैलाली र कञ्चनपुरका खेलाडीले वर्चस्व कायम गर्न सफल भएका हुन् ।

नौवटै जिल्लाका खेलाडीको सहभागिताले प्रदेशस्तरीय छनोटलाई प्रतिस्पर्धात्मक बनाएको थियो । प्रारम्भिक चरणदेखि नै खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । सीमित स्थानका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले मात्र राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सफल भएको आफूले महसुस गरेको सिँहले बताए ।

यसले प्रदेशमा ब्याडमिन्टन खेलप्रतिको आकर्षण र प्रतिस्पर्धा बढ्दै गएको संकेतसमेत गरेको उनले बताए । विशेषगरी कैलाली र कञ्चनपुरका खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दै आउनुले यी दुई जिल्लामा ब्याडमिन्टन खेलको अभ्यास, प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरण तुलनात्मक रूपमा बलियो रहेको देखाएको उनको भनाई छ । पुरुषतर्फ कञ्चनपुरले आफ्नो क्षमता प्रमाणित गर्दा महिलातर्फ कैलालीले उत्कृष्ट प्रदर्शन गरेको छ । दुवै जिल्लाका खेलाडीले छनोटमा देखाएको प्रदर्शनले राष्ट्रिय स्तरमा सुदूरपश्चिमको प्रतिस्पर्धात्मक क्षमता बढ्ने आफूले अपेक्षा गरेको सिँहको भनाई छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन् । ब्याडमिन्टनतर्फ कैलाली र कञ्चनपुरका खेलाडीको बलियो उपस्थितिले राष्ट्रिय प्रतियोगितामा पदक जित्ने प्रदेशको सम्भावनालाई पनि आशावादी बनाएको छ ।