काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ । जसका कारण दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ । लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो । ती दुवै खेलमा लुम्बिनीले सुदूरलाई १०० रनभित्रै अलआउट गरेको थियो । अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा हुनेछ ।
लिग चरणमा दुवै टोलीले ५–५ जित निकालेका छन् । सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो ।



















